ओली प्यानलका पदाधिकारीमा को को?
अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा प्यानल नै खडा गरेको छ । ओली समूहबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा यसअघि पदाधिकारी रहेका अनुहार नै समेटिएका छन् ।
ओली पक्षले सचिवमा भने ६ जना नयाँ अनुहार समेटेको छ । सचिवमा खगराज अधिकारी, यामलाल कँडेल, डा.राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेतलाई ओली पक्षले उम्मेदवार बनाएको छ । यी ६ जना अहिलेसम्म पदाधिकारी नबनेका अनुहार हुन् ।
यामलाल कँडेल, डा राजन भट्टराई, भानुभक्त ढकाल, शेरधन राई, हिक्मतकुमार कार्की १०औँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो । यस्तै सचिवमै उम्मेदवार बनाइएका बस्नेत भने यसअघि पोलिटब्यूरो सदस्य मात्रै हुनुहुन्थ्यो।
पोखरेल प्यानलबाट को को ?
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनका क्रममा ईश्वर पोखरेलको टीममा स्वतन्त्र उम्मेदवारी दिएका भनिएका नेताहरूलाई समेत समेटिएको छ ।
पोखरेलको टीममा उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ ।
यस्तै उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी रहेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी रहेको छ।
यस्तै सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी रहेको छ।
भृकुटीमण्डपकोस्थित मिडियासेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले इच्छुक उम्मेदवारहरू फाराम भरी दर्ता गर्न नेताहरु व्यस्त रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९ः३० बजेदेखि उम्मेदवारको फारम वितरण तथा दर्ता प्रक्रिया सुरुभएपछि संशोधनसहित आज दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारी दर्ता गराउने समय कायम गरिएको थियो ।
“उम्मेदवार दर्ता अत्यन्त उत्साहजनक ढङ्गबाट लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार भइरहेको छ । साथीहरु उत्साहित् भएर निर्वाचनमा भाग लिन चाहिरहनुभएको छ ।” उहाँले भन्नुभयो ।
नेता गौतमका अनुसार अध्यक्ष पदको उम्मेदवारी शुल्क रु १५ हजार, उपाध्यक्षदेखि सचिवसम्मका पदाधिकारीको रु १० हजार र केन्द्रीय सदस्यका लागि रु पाँच हजार शुल्क तोकिएको छ । उम्मेदवारी फारम शुल्क भने रु १०० तोकिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार नै भोलि मङ्गलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने नेता गौतमले जानकारी दिनुभयो ।
एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।


















