Prakash Adhikari December 21, 2025

पेरिस, ६ पुस (रासस/एएफपी) : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उहाँका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँसँग वार्ता गर्न तयार रहेको भन्दै उहाँको वार्ता गर्ने तत्परता ‘स्वागतयोग्य’ रहेको फ्रान्सको राष्ट्रपतिको कार्यालयले आइतबार जनाएको छ ।

“यो स्वागतयोग्य छ । क्रेमलिनले सार्वजनिक रूपमा वार्ताको दृष्टिकोणमा सहमति जनाएको छ । हामी आगामी दिनहरूमा अगाडि बढ्ने उत्तम तरिकाको बारेमा निर्णय गर्नेछौँ,” राष्ट्रपति म्याक्रोँलाई उद्धृत गरी एलिसीले जनाएको छ।

एलिसीले भनेको छ, “फ्रान्सेली राष्ट्रपतिले मस्कोसँग कुनै पनि छलफल युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली सहयोगीहरूसँग ‘पूर्ण पारदर्शितामा’ सञ्चालन गरिनेछ र यसको लक्ष्य युक्रेनको लागि ‘ठोस र स्थायी शान्ति’ सुरक्षित गर्नु हो।”

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले आइतबार रूसी सरकारी समाचार संस्था आरआईए नोभोस्तीलाई दिएको एक अन्तर्वार्तामा आफ्ना फ्रान्सेली समकक्षीसँग ‘वार्तामा संलग्न हुन तयार भएको’ बताउनुभएको छ।

म्याक्रोँले आइतबार भन्नुभयो, “मेरो विचारमा वार्ताको नेतृत्व गर्न संयुक्त राज्य अमेरिकालाई एक्लै छोड्नुको सट्टा युरोपले पुटिनसँगको वार्तामा नेतृत्व लिनुपर्छ र संवादलाई जारी राख्नुपर्छ । सन् २०२२ मा रूसले युक्रेनमा सुरू गरेको पूर्ण आक्रमणपछिको युक्रेनको द्वन्द्व अन्त्य गर्न वार्ताको नेतृत्व लिनु उचित हुन्छ।”

“युक्रेनमा आक्रमण र राष्ट्रपति पुटिनको जिद्दीले विगत तीन वर्षमा वार्ताको कुनै पनि सम्भावनालाई टाढा बनाएको थियो,” एलिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“युद्धविराम र शान्ति वार्ताको सम्भावना स्पष्ट हुनासाथ पुटिनसँग वार्ता गर्नु फेरि उपयोगी हुन्छ,” विज्ञप्तिमा अगाडि भनिएको छ ।

संयुक्त राज्य अमेरिकाले यस सप्ताहन्तमा फ्लोरिडामा द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ थप वार्ताहरू आयोजना गर्दैछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर, अमेरिकी विशेष दूत स्टिभ विटकोफ र अर्कोतर्फ युक्रेनी र युरोपेली राजदूतहरू र अर्कोतर्फ रुसी राजदूत किरिल दिमित्रिएभ वार्तामा सहभागी हुनेछन् तर वार्ता त्रिपक्षीयरूपमा प्रत्यक्ष रूपमा हुनेमा भने अझै आशङ्का गरिएको छ।

जेलेन्स्कीले शनिबार वाशिङ्गटनले त्रिपक्षीय ढाँचाको प्रस्ताव गरेको बताउनुभएको थियो । यदि जेलेन्स्कीले भनेजस्तो भएमा मस्को र किएभबीच प्रत्यक्ष वार्ता गराउन विगत छ महिनादेखि गरिएको प्रयास सफल भएको मानिनेछ तर क्रेमलिनले आइतबार युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने कुरा अस्वीकार गरेको छ।

Share Now