Prakash Adhikari December 22, 2025

 

  • लाउरा गोज्जी

रुसले दक्षिणी युक्रेनको ओडेसा क्षेत्रमा आफ्नो आक्रमण तीव्र पारेको छ जसका कारण व्यापकरूपमा बिजुली कटौती भएको तथा उक्त क्षेत्रको समुद्री पूर्वाधारलाई खतरामा पारेको बताइएको छ।

युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले उक्त क्षेत्रमा मस्कोले योजनाबद्ध आक्रमण गरिरहेको बताउनुभएको छ। गत साता उहाँले ‘युद्ध ओडेसामा सर्न सक्छ’ भन्दै चेतावनी दिनुभएको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बारम्बारको आक्रमणले गर्दा युक्रेनको सामुद्रिक बन्दोबस्तका सामानमा पहुँच रोक्ने मस्कोले प्रयास गरेको बताउनुभएको छ।

डिसेम्बरको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्ल्याक सीमा रुसको ‘श्याडो फ्लीट’ का ट्याङ्करमा ड्रोन हमलाको बदलामा समुद्रमा युक्रेनको पहुँच तोड्ने धम्की दिनुभएको थियो।

‘श्याडो फ्लीट’ त्यस्तो शब्दावली हो जसले सन् २०२२ मा युक्रेनमा पूर्ण स्तरमा आक्रमण गरेपछि लगाइएको पश्चिमी प्रतिबन्धलाई ‘बाइपास’ गर्न रुसले प्रयोग गरेको सयौँ ट्याङ्करलाई जनाउँछ।

भौतिक र मानवीय क्षति

सोमवार साँझ ओडेसाको बन्दरगाह पूर्वाधारमा आक्रमण भएको र सर्वसाधारणले प्रयोग गर्ने एउटा पानीजहाजमा क्षति पुगेको क्षेत्रीय गभर्नरले बताउनुभएको छ।

रुसले गरेको सयौँ हमलाको शृङ्खलामध्ये यो पछिल्लो हो जसले उक्त क्षेत्रमा थुप्रै दिनसम्म विद्युत् आपूर्तिमा बाधा पुर्‍याएको छ र धेरै हताहत भएका छन्।

आइतवार राति हमलाका कारण १ लाख २० हजार मानिसका लागि विद्युत् आपूर्ति रोकियो र एउटा मुख्य बन्दरगाहमा आगो लाग्दा पीठो र खाने तेलका दर्जनौँ कन्टेनरहरूमा क्षति पुग्यो।

गत साता, ओडेसाको पूर्वी पिभ्डिएनीए बन्दरगाहमा बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा ३० जना घाइते भए भने ८ जनाको मृत्यु भएको छ।

साताको सुरुमा भएको अर्को हमलामा एक जना महिला मारिएकी थिइन् जो आफ्ना तीन बच्चासहित कारमा यात्रा गरिरहेकी थिइन्। उक्त हमलाका कारण युक्रेन र मोल्डोभा जोड्ने ओडेसा क्षेत्रको एउटै पुल पनि अस्थायी रूपमा रोकिएको थियो।

जेलेन्स्कीको जवाफ रुसलाई

जेलेन्स्कीले सप्ताहान्तमा दिमित्रो कार्पेन्कोलाई बर्खास्त गरेपछि यस क्षेत्रका लागि वायु सेनाको नयाँ कमान्डर चाँडै चयन गरिने सङ्केत गर्नुभयो।

ओडेसाको बन्दरगाह देशको अर्थव्यवस्थाको लागि सधैँ महत्त्वपूर्ण रहेको छ।

यो सहर युक्रेनको कियभ र खार्किभपछि तेस्रो ठूलो सहर हो। यसले अब रणनीतिक महत्त्व ओगटेको छ किनकि जापोरिजा, खेर्सोन र मिकोलायिभ क्षेत्रका अन्य बन्दरगाहहरू रुसी कब्जाका कारण युक्रेनको पहुँचमा छैनन्।

युद्धको बाबजुद पनि युक्रेन गहुँ र मकैको विश्वकै शीर्ष निर्यातकर्तामध्ये एक हो।

सन् २०२३ को अगस्टयता ओडेसा एउटा महत्त्वपूर्ण कोरिडोरको सुरुवात विन्दु भएको छ जसले टर्की पुग्नुअघि रोमानिया र बुल्गेरियाको समुद्री तटहरू हुँदै देशबाट अन्न निर्यात गर्न अनुमति दिन्छ।

यसअघि रुसले ओडेसाका जनतामाथि अराजकता फैलाएको आरोप लगाएका जेलेन्स्कीले ‘रुसमाथि दबाव नदिई आक्रामकता अन्त्य गर्ने उनीहरूको कुनै मनसाय छैन भन्ने सबैले हेर्नुपर्ने’ बताउनुभएको छ।

अमेरिकी नेतृत्वको कूटनीतिक प्रयासको पछिल्लो मायामीमा सकिएका बेला जेलेन्स्कीको यो टिप्पणी आएको हो। अमेरिकाले युक्रेन र रुसका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेट गरेको थियो। ती बैठकहरूबाट आसलाग्दा कुराहरू आए पनि मस्कोले युक्रेनमा गर्दै आएको करिब चार वर्ष लामो युद्ध अन्त्य गर्ने कुनै स्पष्ट प्रगति भने त्यसमा देखिँदैन।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफले आफू र आफ्ना युक्रेनी समकक्षी रुस्तेम उमरोभले यो महिनाको सुरुमा युक्रेनले प्रस्तुत गरेको २०-बुँदे मस्यौदा शान्ति योजनामा ​​ूस्थिति मिलाउनेू काम गरेको बताउनुभएको थियो। उक्त योजना नोभेम्बर महिनामा अमेरिकाले प्रस्तुत गरेको प्रस्तावको विकल्पका रूपमा अघि सारिएको हो। अमेरिकाले अघि सारेको उसको प्रस्ताव मस्कोका लागि अनुकूल रहेको रूपमा हेरिएको थियो।

Share Now