ढाका, १० पुस (रासस/एएनआई) : सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान बिहीबार स्वदेश फर्किनुभएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि उहाँको आगमनलाई बङ्गलादेशको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
रहमान आफ्नी धर्मपत्नी जुबैदा रहमान र छोरी जाइमा रहमानसँग लन्डनबाट विमान बङ्गलादेश एयरलाइन्सको उडानमार्फत ढाका आइपुग्नुभएको हो । उक्त विमान ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुअघि सिल्हटमा अवतरण गरेको थियो ।
उहाँको स्वागतका लागि विमानस्थल आसपास र ३०० फिट रोड क्षेत्रमा ठूलो सङ्ख्यामा बिएनपी समर्थक तथा कार्यकर्ता भेला भएका थिए । देशका विभिन्न भागबाट आएका समर्थकहरूले क्षेत्रलाई मानौँ जनसागरमा परिणत गरेका थिए । पार्टीका वरिष्ठ नेताहरू, स्थायी समितिका सदस्यसहित विमानस्थलमै उहाँलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो ।
भीड व्यवस्थापनका लागि विमानस्थल प्रशासनले २४ घण्टाका लागि आगन्तुक प्रवेशमा प्रतिबन्ध लगाएको थियो । वैध टिकट र पासपोर्ट भएका यात्रुहरू बाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाइएको बिडीन्युज२४ ले जनाएको छ ।
बङ्गलादेशको अन्तरिम सरकारले पनि रहमानको सुरक्षाका लागि व्यापक तयारी गरेको बताएको छ । अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले सरकार उहाँको स्वदेश फिर्तीलाई स्वागत गर्दै बिएनपीसँग समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
ढाका आगमनपछि रहमान ३०० फिट रोड (३६ जुलाई एक्सप्रेसवे) मा आयोजित संक्षिप्त स्वागत कार्यक्रममा सहभागी हुनुभयो । त्यसपछि उहाँ एभरकेयर अस्पताल जानुहुने र पछि गुलसनस्थित आफ्नै निवासमा बसाइँ सर्नुहुने कार्यक्रम रहेको छ ।
बिएनपीका अनुसार रहमानले डिसेम्बर २७ मा मतदाता दर्ता गर्ने योजना बनाउनुभएको छ । यसका लागि निर्वाचन कार्यालयहरू शनिबार पनि खुला रहने जानकारी दिइएको छ ।
यसैबीच, फेब्रुअरी १२ मा हुने संसदीय निर्वाचनका लागि बिएनपी नेत्री खालिदा जिया र तारिक रहमानका तर्फबाट बोगुराका विभिन्न निर्वाचन क्षेत्रका लागि नामाङ्कन फारम सङ्कलन भइसकेको बिडीन्युज२४ ले जनाएको छ ।
अवामी लिग चुनावबाहिर
बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले बङ्गलादेश अवामी लिगले आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय संसदीय निर्वाचनमा सहभागी हुन नपाउने स्पष्ट गर्नुभएको छ । उहाँका अनुसार पार्टीमाथि लगाइएको राजनीतिक गतिविधि प्रतिबन्ध र निर्वाचन आयोगद्वारा दर्ता रद्द गरिएकाले अवामी लिगको चुनावी सहभागिता सम्भव छैन ।
बुधबार राजधानी ढाकास्थित फरेन सर्भिस एकेडेमीमा अन्तरिम सरकारको सल्लाहकार परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आलमले सरकारको निर्णयबारे जानकारी दिनुभयो । यस क्रममा अवामी लिगमाथि लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै पाँच अमेरिकी सांसदले मुख्य सल्लाहकारलाई पठाएको पत्रबारे सोधिएको प्रश्नको जवाफमा उहाँले आफूले उक्त पत्र नदेखेको तर सरकारको अडान स्पष्ट रहेकोमा जोड दिनुभयो ।
“अवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाइएको छ र निर्वाचन आयोगले पार्टीको दर्ता रद्द गरिसकेको छ । त्यसैले अवामी लिगले आगामी निर्वाचनमा भाग लिन सक्ने छैन”, उहाँले भन्नुभयो ।
यस वर्ष मे महिनामा अन्तरिम सरकारले बङ्गलादेश अवामी लिग र यसका सम्बद्ध तथा भ्रातृ सङ्गठनहरूको सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र अधिसूचना जारी गरेको थियो । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा मुद्दा टुङ्गो नलागेसम्म प्रतिबन्ध कायम रहने उक्त निर्णय गृह मन्त्रालयअन्तर्गत सार्वजनिक सुरक्षा विभागले आतङ्कवाद विरोधी (संशोधन) अध्यादेशअनुसार लिएको हो ।
गत वर्ष जुलाईमा विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएको करिब एक वर्षपछि बङ्गलादेश फेब्रुअरी २०२६ मा राष्ट्रिय निर्वाचनतर्फ अग्रसर भइरहेको छ । तर पूर्वप्रधानमन्त्री शेख हसिनाले अवामी लिगबिनाको चुनावलाई ‘चुनाव नभई राज्याभिषेक’ को संज्ञा दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, “अवामी लिगबिनाको चुनाव चुनाव होइन । जनताको मतविना शासन गरिरहेका युनुसले लोकप्रिय जनादेशबाट पटक–पटक निर्वाचित पार्टीलाई प्रतिबन्ध लगाउन खोजिरहनुभएको छ ।” उहाँका अनुसार अवामी लिगमाथिको प्रतिबन्ध कायम रहे लाखौँ मतदाता प्रभावकारी रूपमा मताधिकारबाट वञ्चित हुनेछन् र त्यस्तो प्रक्रियाबाट बन्ने कुनै पनि सरकार नैतिक वैधताविहीन हुनेछ ।
राजनीतिक तनाव चुलिँदै गएको अवस्थामा बङ्गलादेशले फेब्रुअरी २०२६ मा हुने निर्वाचनलाई निर्णायक मोडका रूपमा हेरिरहेको छ ।


















