Prakash Adhikari January 2, 2026

 

सानेपा(ललितपुर), १८ पौष । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राख्नुभएको गरेको महाधिवेशन सार्ने प्रस्ताव बहुमतले पारित भएको थियो । सो प्रस्तावमा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह के.सी.,फरमूल्लाह मन्सूर र उमा रेग्मीले फरक मत राख्नुभएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको मंसिर १५ मा बसेको बैठकले पार्टीको १५ औं महाधिवेशन पुस २६(२८ सम्म गर्ने निर्णय गरी समय तालिका पारित गरेको थियो । सो समय तालिका अनुसार पुस १६ सम्म वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो । तर कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रक्रिया नै आजसम्म टुंगिएको छैन । पार्टीले पठाएका क्रियाशील सदस्यता पत्रमा क्रम संख्या नै उल्लेख नभएको पाइएपछि विवाद उत्पन्न भएको थियो ।

पार्टीको नियमित महाधिवेशनतालिका प्रभावित भएपछि महामन्त्री थापा र शर्माले बिहिवार नियमित १५ औं महाधिवेशन स्थगित भएको र विशेष महाधिवेशन विधानअनुरुप गर्ने संयुक्त विज्ञप्ति जारी गरेपछि कांग्रेसको राजनीतिमा हलचल पैदा भएको थियो । विशेष महाधिवेशन पक्षधरहरुले भृकुटी मण्डपको प्रदर्शनी हलसमेत बुक गराईसकेको जानकारी आएपछि आजका लागि कार्यसम्पादन समितिको बैठक राखिएको थियो ।

अझै पनि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा हुनुहुन्छ ।

यस्तो छ नयाँ तालिका

चैत २१ – वडा अधिवेशन
चैत २५-  गाउँ र नगर अधिवेशन
चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन
वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन
वैशाख १०, ११ र १२ – प्रदेश अधिवेशन
वैशाख २८, २९, ३० र ३१ केन्द्रीय अधिवेशन

विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको लागि

२०८२ माघ ७ गते भित्र – क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि
२०८२ माघ १५ गते भित्र- केन्द्रबाट उक्त नामावली स्वीकृत गर्ने अवधि
२०८२ माघ २९ गतेभित्र – अधिवेशन

 

सायद पाठ को फोटो हुनसक्छ

Share Now