काठमाडौँ, २२ पौष । राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनमा नेपाली कांग्रेस। नेकपा एमाले र मधेशवादी राजनीतिक दलबीच सहकार्य हुने भएको छ ।
पहिलेदेखि नै सहकार्यको समझदारी गर्दै आएका यी दलहरुबीच राष्ट्रिय सभामा सबै दलको अस्तित्व रहने गरी प्रतिनिधिमूलक बनाउने प्रयासले आज अन्तिम रुप लिंदै छ । आज बस्ने एमाले सचिवालय बैठकले राष्ट्रिय सभामा राजनीतिक सहकार्य र सहमतिको निर्णय गर्दै उम्मेद्वारहरुको नाम टुंग्याएपछि आजै बस्ने नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पनि सोही अनुरुपको निर्णय गरी उम्मेद्वार टुंग्याउने भएको छ । यसको लागि आज ११ बजेका लागि निर्धारित कांग्रेस कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजेका लागि सारिएको छ । नेकपा एमालेको सचिवालय बैठक भने अहिले बसिरहेको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा दुईपार्टी बीचको सहकार्यलाई अगाडि बढाउन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक हिजो साँझ छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु पनि जानुभएको थियो ।
माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ। जसमा कांग्रेसले ८ सिट दाबी गरेको कार्यवाहक सभापति खड्काले सोमवारको कार्य सम्पादन समितिको बैठकमा ब्रिफिङ गर्नुभएको थियो ।
पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउन कांग्रेस, एमाले र नेकपाका दोस्रो तहका नेताबिच छलफल भएको हो ।
भदौ २३ गतेको जेनजी प्रदर्शन, २४ गतेको विध्वंश र आन्दोलनकारीको भौतिक आक्रमणमा परेर कांग्रेस सभापतिले सिंगापुर उपचार जानुपूर्व पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । खड्काले कार्यबाहक सभापतिको जिम्मेवारी लिएपछि हुन लागेको यो पहिलो निर्वाचन भएकोले यसमा भरसक सहमतिमा अधिकतम् सिट लिएर राजनीतिक सहकार्यको बाटो खोल्ने प्रयासमा नेपाली कांग्रेस रहेको छ ।
राष्ट्रिय सभाको निर्वाचनको लागि मधेशवादी दलहरुमध्ये महन्त ठाकुर र उपेन्द्र यादवलाई पनि समेट्ने प्रयास भइरहेको छ ।


















