Prakash Adhikari January 6, 2026

 

लण्डन(संयुक्त राज्य अमेरिका), २३ पौष (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल उहाँको विदेश नीतिको महत्त्वाकाङ्क्षाले परिभाषित गर्दै छ।

ट्रम्पले सबैभन्दा पहिले भेनेजुएलालाई धम्की दिनुभयो अनि त्यसपछि उच्च सुरक्षाभित्र रहेका राष्ट्रपति निकोलास मदुरो र उहाँकी श्रीमतीलाई रातारात कब्जा गरेर अमेरिका पुर्‍याउनुभयो ।

यो कारबाहीलाई ट्रम्पले अमेरिकाका तत्कालीन राष्ट्रपति जेम्स मुन्‍रोले सन् १८२३ मा प्रतिपादन गरेको सिद्धान्तसँग जोडेर व्याख्या गर्नुभएको छ । यसलाई पछिल्लो समय डोनल्ड ट्रम्पकै समेत नाम जोडेर ‘डोन्‍रो डक्ट्रिन’का रूपमा समेत चर्चा गरिएको छ।

वाशिङ्टनको नजरमा परेका अन्य देशहरूविरुद्ध उहाँ पछिल्ला दिनमा दिएका केही चेतावनी हेरौँ।

डेन्मार्क

डेन्मार्कको नियन्त्रणमा रहेको ग्रीनल्यान्डमा अमेरिकाको यसअघि नै पिटुफीक स्पेस बेस छ। तर ट्रम्प पूरै टापु आफ्नो बनाउन चाहनुहुन्छ ।

“राष्ट्रिय सुरक्षाका दृष्टिकोणले पनि हामीलाई ग्रीनल्यान्ड चाहिन्छ”, ट्रम्पले पत्रकारहरूसँग भन्नुभएको छ । उहाँका अनुसार यो क्षेत्र ‘जताजतै चिनियाँ र रुसी पानीजहाजले ढाकिएको छ।’

डेन्मार्कको भूभागअन्तर्गत पर्ने यो ध्रुवीय टापु अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा देशको सीमाभन्दा ३,२०० किलोमिटर टाढा पर्छ।

यो टापुमा बहुमूल्य सुन र प्ल्याटिनमदेखि लिथिअम र टाइटानिअमसहितका आठ वटा दुर्लभ धातु अनि ‘रेअर अर्थ एलिमन्ट’ सूचीकृत छन्। रेअर अर्थ धातु स्मार्ट फोनदेखि विद्युतिय सवारीसाधन र सैन्य उपकरणको उत्पादनका लागि समेत अत्यावश्यक छन्। अहिले चीनले अमेरिकाको भन्दा निकै धेरै रेअर अर्थ खनिज उत्पादन गरिरहेको छ।

ग्रीनल्यान्डले उत्तर एट्लान्टिक क्षेत्रको खास रणनीतिक भूभाग पनि ओगटेको छ। आर्क्टिक सर्कलका लागि महत्त्वपूर्ण पहुँचका लागि पनि अमेरिकाका लागि यो ठाउँ खास छ।

आगामी वर्षहरूमा ध्रुवीय बरफ पग्लँदै जाँदा त्यो ठाउँबाट नयाँ जलमार्ग खुल्ने अपेक्षा पनि गरिएको छ।

ग्रीनल्यान्डका प्रधानमन्त्री येन्स फ्रेड्रिक निल्सनले उक्त टापु आफ्नो नियन्त्रणमा लिने अमेरिकी प्रस्ताव काल्पनिक भएको टिप्पणी गर्नुभएको छ ।

“दबाव चाहिँदैन। सङ्केतहरू चाहिँदैनन्। टुक्राउने कल्पना नगर। हामी वार्ताका लागि तयार र खुला छौँ। तर यो उचित बाटोबाट हुनुपर्छ र अन्तर्राष्ट्रिय कानुनको सम्मानसहित हुनुर्छ”, उहाँले भन्नुभयो ।

ग्रीनल्यान्डमा कोइला र युरेनिअमसहित ऊर्जा उत्पादनमा प्रयोग हुने तत्त्वहरू अनि हीरा र माणिकजस्ता बहुमूल्य पत्थरहरू पनि पाइन्छन्। यो क्षेत्र तेल र ग्यासको ठूलो भण्डार भएको पनि दाबी गरिएको छ। तर ती खानीहरू पहिचान हुन बाँकी छन्।

कोलम्बिया
भेनेजुएलामा कारबाहीपछि ट्रम्पले कोलम्बियाका राष्ट्पति गुस्टाभो पेट्रोलाई चेतावनी दिनुभएको छ ।

भेनेजुएलाको पश्चिमी छिमेकी कोलम्बिया पनि उल्लेख्य मात्रामा तेलको भण्डारण भएको देश हो। यो देश सुन, चाँदी, पन्ना, प्ल्याटिनम र कोइलाको पनि धनी देश हो।

यो क्षेत्रको लागुऔषध कारोबारको केन्द्र पनि कोलम्बिया हो, विशेष गरी कोकेनका लागि।

अमेरिकाले सेम्टेम्बरबाट क्यारिबीअन र पूर्वी प्रशान्त क्षेत्रमा कुनै पनि प्रमाणबिना लागुऔषध बोकेका डुङ्गाहरूमा आक्रमण सुरु गरेपछि कोलम्बियाका वामपन्थी राष्ट्रपतिसँग उहाँको विवाद बढ्दै गएको छ।

अमेरिकाले लागुऔषध गिरोहलाई फैलनेअवसर दिएको भन्दै पेट्रोमाथि गत अक्टोबरमा प्रतिबन्धहरू लगाएको थियो।

आइतवार एअर फोर्समा उड्दै गर्दा ट्रम्पले भन्नुभयो,”कोलम्बिया एक जना बिरामी मान्छेले चलाइरहनुभएको छ। उहाँ कोकेन बनाएर अमेरिकामा बेच्न रुचाउनुहुन्छ। अब उहाँले धेरै लामो समय यो गरिरहन पाउँनुहुन्न।”

अमेरिकाले कोलम्बियालाई लक्षित गरेर आक्रमण गर्छ कि गर्दैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले भन्नुभयो, “यो कुरा मलाई राम्रै लाग्यो।”

ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने कोलम्बिया लागुऔषध नियन्त्रणको युद्धमा अमेरिकाको निकट सहयोगी देश हो। लागुऔषध गिरोह नियन्त्रणका लागि कोलम्बियाले अमेरिकाबाट वर्षेनि दशौँ लाख डलर सैन्य सहायता पाउँदै आएको छ।

इरान

इरानमा अहिले ठूल्ठूला सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन्। यदि थप प्रदर्शनकारीहरूको मृत्यु भए अधिकारीहरूले ‘नराम्रो परिणाम भोग्नुपर्ने’ चेतावनी ट्रम्पले गत रात दिनुभएको छ ।

“हामीले निकै नजिकबाट नियालिरहेका छौँ। यदि विगतमा जस्तै मानिसहरू मार्न थाले भने उनीहरूले अमेरिकाबाट निकै नराम्रो परिणामको सामना गर्नुपर्ने हुनसक्छ”, उहाँले एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो ।

सैद्धान्तिक रूपमा इरान ‘डोन्‍रो डक्ट्रिन’ भन्दा बाहिर पर्छ। यद्यपि ट्रम्पले यसअघि पनि इरानी सत्तालाई चेतावनी दिनुभएको छ। उहाँले गत वर्ष इरानका परमाणविक पूर्वाधारहरूमा आक्रमणपछि पनि त्यहाँको सत्तालाई चेतावनी दिनुभएको थियो ।

इजरायलले इरानले विकास गर्ने पारमाणविक शक्ति निस्तेज पार्ने गरी ठूलो स्तरको आक्रमण गरेपछि अमेरिकाले थप आक्रमण गरेको थियो। त्यस बेला इजरायल र इरानबीच १२ दिन लामो द्वन्द्वसमेत भएको थियो।

गत साता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र ट्रम्पबीच मार-ए-लागोमा भएको भेटको प्रमुख विषय नै इरान भएको बताइएको छ। अमेरिकी सञ्चारमाध्यमले सन् २०२६ मा इरानमाथि सम्भावित आक्रमण हुन सक्ने उल्लेख गरेका छन्।

मेक्सिको

सन् २०१६ मा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने चुनावी नाराकै कारण ट्रम्प राष्ट्रपति बन्नुभएको थियो।

सन् २०२५ मा पुनः राष्ट्रपतिको कार्यभार सम्हालेपछि उहाँले हस्ताक्षर गरेको पहिलो कार्यकारी आदेशमा गल्फ अफ मेक्सिकोलाई ‘गल्फ अफ अमेरिका’ नामकरण गर्ने उल्लेख छ।

उहाँले मेक्सिकोका अधिकारीहरूले अमेरिकामा गैरकानुनी आप्रवासी र लागुऔषधको प्रवाह रोक्न कुनै कदम नचालेको आरोप लगाउनुभएको छ ।

आइतवार ट्रम्पले मेक्सिकोबाट लागुऔषध थुप्रिएको भन्दै आफूहरूले केही न केही गर्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले त्यहाँका तस्करहरूको गिरोह धेरै बलियो रहेको बताउनुभएको छ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिआ शेइनबाअमले मेक्सिकोको भूमिमा अमेरिकी सैन्य कारबाहीको सार्वजनिक माध्यममै अस्वीकार गर्नुभएको छ ।

क्यूबा

फ्लोरिडाबाट जम्मा १ सय ४५ किलोमिटर मात्रै दक्षिणमा रहेको यो टापु सन् १९६०को दशकबाटै अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ।

निकोलास मदुरोको भेनेजुएलासँग पनि क्यूबाको राम्रो सम्बन्ध छ।

आइतवार ट्रम्पले क्यूबामा अमेरिकी सैन्य हस्तक्षेपको आवश्यकता नै नभएको बताउनुभयो। उहाँका अनुसार क्युबाको सत्ता आफैँ ‘ढल्ने तयारीमा छ।’

“हामीले कुनै कदम चाल्नुपर्छ जस्तो नै मलाई लाग्दैन”,उहाँले भन्नुभयो ,”त्यो ढल्नै लागेको जस्तो देखिन्छ।”

“थाहा छैन, उनीहरू रोक्न पनि सक्छन् तर क्यूबाको कुनै आम्दानी नै छैन”, उहाँले थप्नुभयो ,”उनीहरूले सबै शक्ति नै भेनेजुएलाबाट आर्जन गरेका हुन्, भेनेजुएलाको तेलबाट।”

क्यूबाकै आप्रवासीबाट जन्मिएका अमेरिकी विदेशमन्त्री मार्को रुबिओले लामो समयदेखि क्यूबामा सत्ता परिवर्तन हुनुपर्ने बताइरहनुभएको छ। शनिवार उहाँले भन्नुभयो, “राष्ट्रपतिको भनाइलाई गम्भीर रूपमा लिनुपर्छ।”

“यदि म हभानमा थिएँ र म सरकारमा थिएँ भने, म पक्कै चिन्तित हुने थिएँ, कम्तीमा अलिकति भए पनि”, उहाँले भन्नुभयो।

Share Now