Prakash Adhikari January 7, 2026

काठमाडौं, २४ पौष । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाडौंको भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुभएको छ ।

पार्टी संस्थापनले भने यसलाई विधानविपरीत भन्दै सहभागी नहुन कार्यकर्ताहरूलाई अपील गरेको छ।

कतिपयले यस विवादले पार्टी विभाजन हुन सक्ने आशङ्का गरे पनि दुवै पक्षका नेताहरूले पार्टी नफुट्ने दाबी गरेका छन्।

महामन्त्रीद्वयको वक्तव्य

महामन्त्रीद्वयद्वारा जारी एक वक्तव्यमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गरेको दाबीसाथ भनिएको छ, “विधानबमोजिम कारणसहित माग गरेको महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन।”

केन्द्रीय कार्यसमितिले नै महाधिवेशन आह्वान गरोस् भनेर अधिकतम प्रयास गरिएको तर त्यो असम्भव भएको भन्दै उहाँहरूले भन्नुभएको छ, “यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैँ क्रियाशील हुन्छ।”

आगामी साताका लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा समेत अपरिहार्य र बाध्यकारी भएको भन्दै महामन्त्रीद्वयले जिम्मेवार पदाधिकारीका रूपमा यो आफूहरूको वैधानिक एवं नैतिक दायित्व र जिम्मेवारी भएको दाबी गरेका गर्नुभएको छ ।

संस्थापन पक्षको धारणा

तर केन्द्रीय कार्यालयका तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भने विशेष महाधिवेशनलाई विधानविपरीत भनिएको छ।

“पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ।”

“तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ।”

के पार्टी फुट्छ त ?

दुवै पक्षले आफ्नो पार्टी नफुट्ने दाबी गरेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विज्ञप्तिको अन्त्यमा भनिएको छ, “जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न हामी कटिबद्ध एवं प्रतिबद्ध छौँ।”

बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले पनि विशेष महाधिवेशन पक्षधरहरूले नै यो कार्यक्रम पार्टी विभाजनका लागि नभएको बताएकाले आफूले पनि पत्याएको बताउनुभयो ।

तर उहाँले थप्नुभयो, “अब उहाँहरूको मनमा के छ, त्यो त उहाँहरूलाई नै बढी थाहा हुने भयो।”

विशेष महाधिवेशनको पक्षमा देखिएका केन्द्रीय सदस्य प्रकाश रसाइलीले पनि पार्टीलाई विघटन वा विभाजनबाट जोगाउने आफ्नो बटमलाइन नै रहेको भन्दै आफूले विभाजन नचाहेको बताउनुभयो ।

आफूहरूसँग महाधिवेशन प्रतिनिधिको बहुमत रहेको दाबी गर्दै उहाँले बहुमतले कहिल्यै पनि पार्टी नफुटाउने दाबी गर्नुभयो ।

Share Now