काठमाडौँ,२५ पुसः नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सक्रियतामा आयोजना गर्न लागिएको विशेष महाधिवेशनमा सहभागी नबन्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले कांग्रेस कार्यकर्ताहरुलाई अनुरोध गर्न थालेका छन् ।
शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै मधेश प्रदेशका आठ जिल्लाका सभापति र कर्णाली प्रदेशका नौ जिल्लाका सभापतिहरुले यस्तो अनुरोध गर्नुभएको हो ।
नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका जिल्ला सभापतिले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन् ।
प्रदेशका आठ वटै जिल्ला सभापतिद्वारा आआफ्नो जिल्लाको लेटरप्याडमा प्रेस संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको भन्दै विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका हुन् ।
कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा महाधिवेशन वा विशेष महाधिवेशनको नाममा कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु विधानविपरीत हुने उल्लेख गर्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ ।
विज्ञप्तिमा जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीको निर्णय, नीति र अनुशासन पालना गर्न आह्वान गरिएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन एकताबद्ध र सशक्त रूपमा अभियानमा जुट्न सबै नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरिएको छ ।
जिल्ला सभापतिहरूमा महोत्तरीका नागेश्वरप्रसाद यादव, सप्तरीका रामदेव शाह, सर्लाहीका डा सरोजकुमार यादव, बाराका राजेशराय यादव, सिरहाका रामचन्द्र यादव, रौतहटका सुनिलकुमार यादव, पर्साका जनार्दन सिंह क्षेत्री र धनुषाका योगेन्द्र पञ्जियारले हस्ताक्षर गर्नुभएको छ । पार्टीको हित, प्रतिष्ठा र सङ्गठन सुदृढीकरणका लागि अनुशासन, एकता र समन्वय अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कर्णालीका नौ कांग्रेस सभापतिहरूको अपिल
कर्णाली प्रदेशका दश जिल्लामध्ये नौ जिल्लाका नेपाली कांग्रेसका सभापतिहरूले औचित्य सकिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका छन् ।
नेपाली कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंह, मुगुका सभापति ऐनबहादुर शाही, जुम्लाका सभापति कर्णबहादुर शाही, कालीकोटका सभापति अम्बहादुर शाही, डोल्पाका कार्यवाहक सभापति लवकुमार शाही, जाजरकोटका सभापति वेदराज सिंह, दैलेखका सभपाति मणिराम रेग्मी, रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओली, सुर्खेतका सभापति खड्गबहादुर पोखरेल र सल्यानका उपसभापति सन्तोष ओलीले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक निर्णयबिना कुनै व्यक्ति विशेषबाट आह्वान गरिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका हुन् ।
पार्टी विधि र विधानअनुसार चल्दै आएको कांग्रेस व्यक्तिको चाहनाअनुसार पार्टी सञ्चालन हुन नसक्ने, नियमित महाधिवेशन र आमनिर्वाचनलाई असर गर्नेगरी आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी एकतालाई गम्भीर क्षति पुर्याउने र मुलुकलाई समेत अस्थिरतामा धकेल्ने स्पष्ट पार्दै उनीहरूले केन्द्रीयदेखि स्थानीय तहसम्मका सबै पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक सङ्घसंस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरूलाई पार्टीको आधिकारिक निर्णयको सम्मान गर्न आग्रह गरेका छन् ।
‘विशेष महाधिवेशन’को पक्षमा देखिएका सल्यान सभापति केशरबहादुर विष्टबाहेक यहाँका नौ सभापतिहरूले निकाले संयुक्त विज्ञप्तिमा भनिएको छ, “केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत आह्वान गरिएको ‘विशेष महाधिवेशन’ले पार्टी र मुलुक दुवैलाई दुर्घटनातर्फ लैजाने खतरा छ । तसर्थ पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा सहभागी नहुन सम्पूर्ण पार्टीपङ्क्तिलाई हार्दिक अपिल गर्दछौँ । केन्द्रीय कार्यसमितिबाट प्रकाशित कार्यतालिकाअनुसार नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यसको विकल्पका रूपमा प्रस्तुत गरिएको विशेष महाधिवेशन स्वतः निष्क्रिय भइसकेको छ ।”


















