काठमाडौं, २८ पौष । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गर्नुभएको छ ।
छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि आफू सदैव कटिबद्ध रहेको बताउनुभयो। पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको उहाँले जानकारी दिनुभएको छ ।
कोइरालाले आफु बिष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताउनुभएको छ ।
कोइरालाले भन्नुभयो, पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु। तपाइहरु ढुक्क हुनुस, पार्टी फुटदैन । तपाईहरु पनि त्यसैमा लाग्नुस। निरास हुने कामै छैन ।ू
उक्त छलफलमा कानुन व्यवसायीहरुले नेपाली कांग्रेसको विधान अनुसार बिशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताउनुभएको थियो । अहिले महामन्त्रीहरुले बोलाएको बिशेष महाधिवेशन वैध पनि नभएकोले त्यसले नेतृत्व परिवर्तन गर्न नमिल्ने र गरेमा त्यो अर्को अवैधानिक कदम हुने उहाँहरुले बताउनुभएको थियो ।
उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरुले पार्टीलाई फूटबाट जोगाउन डा. शेखर कोइरालाले दुबै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए ।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु बल बहादुर केसी, मिनेन्द्र रिजाल, बरिष्ठ अधिबक्ताहरु शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।


















