काठमाडौं, ३० पौष । नेपाली कांग्रेसमा विभाजन रोक्ने सूत्र अझै फेला परेको छैन । आज बिहान नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्ता निष्कर्ष विना टुंगिएको छ ।
नेपाली कांग्रेसका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सहित पार्टी कार्यालयमा दर्ता गरिएको निवेदनका आधारमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा आइतबारदेखि भृकुटी मण्डपमा विशेष महाधिवेशन सुरु भएपछि पार्टी भित्रको विवाद पार्टी विभाजनतर्फ उन्मुख भइरहेको छ । त्यसलाई रोक्ने उपायको खोजीका लागि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गर्नुभएको हो ।
छलफलबाट कुनै ठोस निष्कर्ष ननिस्किएपछि महामन्त्रीद्वय थापा र शर्मा वार्ता स्थलबाट बाहिरिसक्नुभएको छ ।
छलफलमा महामन्त्रीद्वयले सभापति देउवालाई पार्टी राजनीतिबाट निष्क्रिय हुन आग्रह गर्नुभएको बताइन्छ । तर सभापति देउवाले मुन्टो हल्लाए पनि कुनै जवाफ नफर्काएको महामन्त्रीहरूले जानकारी दिनुभएको छ ।
छलफलमा सभापति देउवाले महामन्त्रीद्वयसँग आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने भनेर केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेको र त्यसपछि आफूले नेतृत्व छाड्ने घोषणा गरिसकेको बताउनुभएको थियो ।
वार्तामा सहभागी संस्थापन पक्षका एक नेताका अनुसार सभापति देउवाले तीन महिनामा हुने के नै छ र ? भन्दै विधान अनुसार आफू उम्मेदवार पनि बन्न नमिल्ने र सम्मानजनक ढंगले रिटायरमेण्टमा जान इच्छुक रहेको भन्दै सहमित गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो ।
वार्तामा सभापति देउवाले राष्ट्रिय सभामा आफ्नो हस्ताक्षरबाट साथीहरूले उम्मेदवारी दर्ता गरिसक्नु भएको प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचीमा पनि आफ्नै नाममा हस्ताक्षर गएकोले सहमतिले उम्मेदवार चयन गरिने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुनअसार बनाउन मिल्छ भने आफू तयार रहेको बताउनुभएको थियो । उहाँले यस विषयमा निर्वाचन आयोग र कानुनका जानकारहरूसँग बसेर निर्क्यौल गर्न पनि महामन्त्रीद्धयलाई आग्रह गर्नुभएको थियो ।
देउवाको आग्रहपछि दुवै महामन्त्रीहरू साथीहरूसँग छ्लफल गर्नुपर्छ भनेर छलफलबाट निस्किनुभएको छ ।


















