काठमाडौं, ३० पौष । नेपाली कांग्रेस लगभग विभाजनको बिन्दुमा पुगेको छ । पार्टीलाई एकताबद्ध राख्ने आइतबारदेखिको प्रयास विफल बनेपछि दुवै पक्ष आआफ्नो एजेण्डा अनुसार अगाडि बढेका छन् । आज अपरान्ह बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको छ भने यता विशेष महाधिवेशन पक्षधरहरुले राति ८ बजे केन्द्रीय समितिको मतदान गर्ने गरी निर्वाचन कार्यक्रम अगाडि बढाएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्धय थापा र शमासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायत नेताहरुलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।
बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ(आफ्नो भूमिकामा फर्किन आह्वान गरेको छ ।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै केन्द्रीय समितिले उहाँहरूमाथि कारबाही गरिएको बताइएको छ ।
पार्टीको नियमित महाधिवेशन २०८३ बैशाखमा सारिएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले पौष २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका थिए ।
थापा र शर्मा सहभागी केन्द्रीय समितिको बैठकले नै पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो । त्यसमा महामन्त्रीद्धय, सहमहामन्त्री फरमूल्लाह मन्सूर, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राख्नुभएको थियो ।


















