जनकपुरधाम । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह ९बालेन०ले जनकपुरमा मैथलीमा भाषण गरेर पहिलो चुनावी सभा गरेका छन् । मधेस प्रदेशको राजधानीमा उनले मैथलीमा भाषण गरेर संघीयता र विकासे एजेण्डामा बोलेका हुन् ।
उनले गरेको मैथली भाषाको भाषण जस्ताको तस्तै नेपालीमा यस्तो छ ।
नमस्कार ! कस्तो छ तपाईंहरूलाई ?
सबैभन्दा पहिले माता जानकीलाई प्रणाम गर्दछु । विभिन्न आन्दोलनमा सहिद हुनुभएका ज्ञात–अज्ञात सहिदहरूप्रति सम्मान र समवेदना प्रकट गर्दछु ।आज तपाईंहरू धेरै भाषण सुन्ने मुडमा हुनुहुन्छ जस्तो मलाई लाग्दैन । के छ विचार ? भाषण गरूँ कि नगरूँ ? तपाईंहरू नै भन्नुहोस् ।
म काम गर्ने मान्छे हुँ । तपाईंहरू मलाई काम दिनुहोस्, म काम गरेर देखाउँछु । मलाई काम गर्न दिनुहुन्छ त ? जसरी काठमाडौँ महानगरवासीले मलाई काम गर्ने अवसर दिनुभयो र मैले काम गरेर देखाएँ, के तपाईंहरू पनि मलाई काम गर्ने मौका दिनुहुन्छ ?
आजभन्दा करिब डेढ महिनाअघि राम–जानकी विवाह महोत्सव मनाइँदै गर्दा मेरो मनमा एउटा कुरा खड्कियो । विश्वकै सबैभन्दा प्रसिद्ध जोडी राम–जानकीको विवाह भएको यस पवित्र भूमिमा हामी मधेसी र नेपालीहरू भने ’डेस्टिनेसन वेडिङ’ का लागि जयपुर वा बाली जान्छौँ । डेस्टिनेसन वेडिङका लागि मान्छेहरू किन मिथिला आउँदैनन् ? सरकारको नीति कस्तो छ भने यहाँको व्यवस्थापन, सरसफाइ र आकर्षणलाई किन स्तरीय बनाइएन ? यो कस्तो खालको नीति हो ?
आज दुईवटा कुरा प्रष्ट भएका छन् । पहिलो– मधेसमा पहिलोपटक सबै जातजातिका मानिसहरू एकजुट भएका छन् । दोस्रो– एक वर्षअघि जब जनकपुर बोल्ट्सले कप जित्यो, तब कुनै एउटा जात मात्र खुसी भएन, पूरा मधेस र पूरा नेपाल खुसी भयो । देशको विकास पनि जनकपुर बोल्ट्सको जस्तै हुनुपर्छ, जहाँ सबै जातजाति खुसी हुन् र सबैको विकास होस् ।
धेरैले काठमाडौँ र जनकपुरमा पनि सोध्छन्– राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्घीयता र प्रदेशप्रतिको धारणा के हो ? म भन्छु– प्रदेशलाई अझ बलियो बनाउनुपर्छ । प्रदेशको काम एउटा वडामा गएर ५० हजारको धारा जोड्ने मात्र होइन, कम्तीमा तीन–चारवटा पालिकालाई जोड्ने हुनुपर्छ । आज जनकपुरको प्रमुख प्रशासकीय अधिकृत फेर्नु पर्दा काठमाडौँ किन जानुपर्ने ? जनकपुर त प्रदेशको राजधानी होइन र ? प्रदेशलाई यति बलियो बनाउनुपर्छ कि काठमाडौँ जानै नपरोस्, सबै व्यवस्था यहीँ होस् । काठमाडौँ त केवल पशुपतिनाथ र स्वयम्भूको दर्शन गर्न र घुम्न जाने ठाउँ बनोस्, अधिकार माग्न जाने ठाउँ होइन ।
मेयरका रूपमा चार वर्ष काठमाडौँमा रहँदा धेरैले मलाई भेट्न पाएनन् भन्थे । दैनिक माइतीघर मण्डलामा उखु किसान र मिटरब्याजी पीडितहरूको आन्दोलन हुन्थ्यो, तर मेयरका रूपमा म केवल मूकदर्शक बनेर बस्नुपथ्र्यो, केही गर्न सक्दिनथेँ । तर अब म गरेर देखाउँछु । सोच्नुहोस् त, काठमाडौँमा रहेर मैले ३५ वटा पालिकाका लागि एम्बुलेन्सको व्यवस्था गर्न सकेँ भने भोलि सङ्घीय सरकारमा पुग्दा के–के गर्न सकूँला ?
हाम्रो लक्ष्य विदेश पठाउने होइन, यहीँका कलेजमा पढाउने हुनुपर्छ । महँगा स्कुल र कलेजमा वार्षिक २० हजार विद्यार्थीले निःशुल्क पढ्न पाउनु नै वास्तविक ’समाजवाद’ हो । महँगा अस्पतालमा १० प्रतिशत बेड विपन्नका लागि निःशुल्क हुनु नै समाजवाद हो । जुन समाजवादको सुरुवात काठमाडौँ महानगरमा भएको छ, त्यो सातै प्रदेश र ७५३ वटै पालिकामा चाहिन्छ । चाहिन्छ कि चाहिँदैन ?
हामीले काठमाडौँमा मन्दिर, पाटी–पौवा, पोखरी र फल्चाहरूको संरक्षण गर्यौँ । तर आज मिथिला र जनकपुरका मन्दिर, पोखरी र सम्पदाहरू कसैले आएर संरक्षण गरिदेला कि भनेर पर्खिरहेका छन् । त्यो संरक्षण अब राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ । तपाईंहरू मलाई काम दिनुहोस्, म गरेर देखाउँछु ।
आज म पहिलोपटक भाषण गर्दैछु, किनकि मैले मेयर पदबाट राजीनामा दिइसकेको छु र म अहिले फुर्सदमा छु । चार वर्ष त म काममा व्यस्त थिएँ, भाषण गर्ने समय नै कहाँ थियो र ?
आज म मिथिलाको यो पावन भूमिमा एउटा कुरा भन्न चाहन्छु । नेपालमा वर्षमा जम्मा १० लाख पर्यटक आउँछन्, तर अयोध्यामा वार्षिक १० करोड पुग्छन् । जानकी माताको यो भूमिमा एक्लै १ करोड पर्यटक भित्र्याउने क्षमता छ ।
अन्त्यमा, धेरै जिल्ला र पालिकाबाट आउनुभएका तपाईंहरू सबैलाई धन्यवाद । आज हामीबीच मिलन पनि भयो र जानकी माताको दर्शन पनि भयो । एउटा मधेसी ठिटो प्रधानमन्त्री बन्नका लागि मात्र होइन, देशमा सही मान्छे, सही समय र सही सरकार ल्याउनका लागि घण्टीमा भोट हाल्नुपर्छ ।
जय जानकी माता ! जय मिथिला ! जय मधेस ! जय देश ! जय नेपाल ! जय घण्टी !“


















