काठमाडौँ, ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम मगलवारउत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
देशका राजनीतिक दल र स्वतन्त्र नागरिकहरुले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर मनोनयनपत्र दाखिला गरेका छन् ।आयोगका अनुसार हालसम्म २ हजार ९ सय २५ जनाले प्रतिनिधिसभाको सदस्यको लागि आआफ्ना निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।
उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको छ । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा व्यक्त गर्नुभएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले २ हजार ९ सय २५ उम्मेदवारी परेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमा महिला उम्मेदवार ३ सय ३६ र पुरुष २ हजार ५ सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका १ सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ ।
सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।


















