काठमाडौँ, ९ माघ : राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामसहायप्रसाद यादवले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहिआएको उल्लेख गर्दै उहाँले आजको यस शुभदिनमा आफ्ना बालबालिकालाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने प्रचलन पनि रहिआएको बताउनुभएको छ । “सङ्गीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र साइत जुराउनुपर्ने शुभकार्यका लागि समेत यही दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ”, उहाँले भन्नुभएको छ ।
आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकतामात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने अवसर पनि भएको उहाँको भनाइ छ । शुभकामना सन्देशमा भनिएको छ, “वसन्त पञ्चमीको प्राकृतिक महत्त्व उत्तिकै छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले यस पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतासमेतलाई दर्शाउँछ, विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।”
प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धि होस्ः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमीका दिन उल्लासपूर्वक मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, “नेपालको गणतन्त्रात्मक संविधानले बहुजाति, बहुभाषा, बहुसंस्कृति र विविध वेशभूषालाई संरक्षण गर्दै राष्ट्रिय एकतालाई बलियो बनाएको छ, वसन्त पञ्चमीले आपसी वैमनस्यता विसर्जन गरी सहकार्य, सद्भाव र ज्ञानमार्गमा अघि बढ्न सबैलाई प्रेरित गर्दछ, वसन्त पञ्चमीले प्रेम, मेलमिलाप र एकताको भावना प्रवर्द्धन गर्दै सकारात्मक सोच, ऊर्जाशील जीवनशैली र नयाँ खोजतर्फ अग्रसर हुन सबैलाई प्रेरित गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
उपराष्ट्रपति यादवले वसन्त पञ्चमीको अर्को विशेषता यसको सर्वधर्म स्वीकार्यता भएको उल्लेख गर्दै हिन्दू धर्मावलम्बीहरूले देवी सरस्वतीको पूजा गर्ने, बौद्ध धर्मावलम्बीहरूले मञ्जुश्रीको आराधना गर्ने, मुस्लिम समुदायले सुफी वसन्तका रूपमा मनाउने परम्परा यस पर्वलाई बहुधार्मिक उत्सवका रूपमा स्थापित गर्ने पनि बताउनुभएको छ ।
विद्या, विवेक, कला र सङ्गीतकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने परम्परा यस पर्वको मूल सार भएको बताउँदै उहाँले भन्नुभएको छ, “शैक्षिक संस्थानहरूमा साङ्गीतिक कार्यक्रम तथा पूजाअर्चना गरिनुले ज्ञान र संस्कृतिप्रति सम्मान प्रकट गर्नु हो, यस दिन पुस्तक, कलम, वाद्ययन्त्र आदिको पूजा गर्ने परम्पराले अध्ययन–अभ्यासमा प्रयोग हुने साधनलाई आदर गर्नुपर्ने सन्देश दिन्छ, अभिभावकहरूले बालबालिकाको अक्षरारम्भ गर्ने परम्परा पनि यस पर्वको विशेषता हो ।”
देशभरका सरस्वती मन्दिरहरूमा मेला लाग्ने, सार्वजनिक पण्डालमा सामूहिक पूजा गर्ने, भजनकीर्तन तथा वसन्त श्रवण गरिनुले हाम्रो मौलिक परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुग्ने विश्वास गर्दै उहाँले देवी सरस्वतीको प्रतिमाको विसर्जनसँगै हुने धार्मिक झाँकीहरूले मौलिक संस्कृतिको जगेर्ना गर्न प्रेरणा दिने बताउनुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “यस पर्वलाई श्रीपञ्चमीका रूपमा पनि मनाइन्छ, जसले कृषिसँग सम्बन्ध जोडेको छ, मधेसमा हलो पूजा गर्ने तथा कृषिश्रमिकलाई सम्मान गर्ने परम्परा मौलिक संस्कृतिको जीवन्त उदाहरण हुन्, आधुनिकताले केही परम्परा कमजोर भए पनि यसको पुनर्जीवन आवश्यक छ, किनभने कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो ।”
—


















