Prakash Adhikari January 23, 2026

मनाङ, ९ माघ । मनाङमा प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेले चुनाव नलड्ने भएको छ । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेको उम्मेदवारी फिर्ताको पत्र दर्ता भैसकेको छ । राप्रपाले पनि मनाङमा चुनाव नलड्ने भएको छ ।
राप्रपा उम्मेदवार कुविरसिङ गुरुङले पनि मनोनयन फिर्ताका लागि निवेदन दिनुभएको छ ।

स्रोतका अनुसार एमालेले मनाङमा कांग्रेसलाई सघाउने भएको छ । अब कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी यहाँको प्रमुख प्रतिस्पर्धी भएका छन् । नेकपाले यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ ।

किन फिर्ता लियो एमालेले ?

मनाङमा कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी भएपछि गाउँमा भएका लामा गुरुहरूले मिलाउने प्रयास गरे । चुनावमा धेरै झै–झगडा हुने र कहिलेकाहीँ अप्रिय घटना नै हुने गरेपछि यसपालि प्रमुख दलहरू मिलेर चुनावमा सहभागी हुनुपर्ने उनीहरूको प्रस्ताव थियो । बिहीबार भ्राताङमा भएको भेलामा दुवै उम्मेदवार टसमस नभएपछि चिट्टाबाट निर्णय लिने प्रस्ताव गरियो ।

कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङको उपस्थितिमा चिट्ठा तान्दा कांग्रेसले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने र एमाले ब्याक हट्ने फैसला भयो । सोही अनुसार शुक्रबार बिहानै पोल्देनले उम्मेदवारी फिर्ता लिन लागेका हुन् । मनाङमा यो परम्परा पुरानो हो ।

चिट्ठा अनुसार प्रदेशका २ निर्वाचन क्षेत्र अब एमालेले पाउने छ । आगामी निर्वाचनमा प्रदेशका क्षेत्रमा कांग्रेसले एमालेलाई सघाउने समझदारी भएको हो । मनोनयन फिर्ताको निवेदनमाथि ३ बजेपछि मात्रै निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभएको छ ।

Share Now