सानेपा(ललितपुर) ९ माघः नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्नुभएको छ।
आज सरस्वती पूजाको दिन पनि परेको हुनाले उहाँले पहिले पूजा गरेर पद बहाली गर्नुभएको थियो । उहाँलाई पार्टीका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले माला र खादा पहिर्याएर पद बहाली गराउनुभएको थियो ।
पद बहाली पछि नवनिर्वाचित कांग्रेस सभापति थापाले
“बदल्यौं कांग्रेस,
बदल्छौं देश ।”
“यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौ हामी । हाम्रो केवल एक ध्येय छ( देशको समुन्नति ।”
भन्ने संकल्प पार्टीको माइन्युटमा लेख्नुभएको थियो ।
काठमाडौँमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
पदबहाली कार्यक्रममा सहभागीहरु पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे निर्वाचित कार्यसमितिका पदाधिकारीसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भीड लागेको थियो ।
नवनिर्वाचित कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय बैठक पनि बसेको छ बैठकले आसन्न राष्ट्रिय सभामा पार्टीका तर्फबाट उठाइएका उम्मेद्वारहरुलाई विजयी गराउन पार्टी उपाध्यक्ष पुष्पा भूसालको संयोजकत्वमा संबन्धित प्रदेश सभापति रहेको समिति बनाएको छ ।
त्यस्तै पार्टीले आगामी निर्वाचनमा भावि प्रधानमन्त्रीको रुपमा गगनकुमार थापालाई प्रस्तुत गर्दै निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।


















