कीर्तिपुर(काठमाडौं), १० माघ । नेपालमा भइरहेको आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो ।
नेपालको जितमा उपकप्तान पूजा महतोले अर्धशतक बनाइन । आज उनले अन्तिम ओभरको तेस्रो बलमा चौका ठोकेर टिमलाई विजय दिलाईन । २० ओभरको खेलमा उनले ५२ रन बनाइन । नेपालका लागि कप्तान इन्दु बर्माले २२ रन बनाइन भने बिन्दु रावलले १५, रिटायर्ड हर्ट सीता रानामगरले ११, संझना खड्काले ९ रुविना क्षेत्रीले नट आउट २ र कविता जोशीले १ रनको योगदान दिए ।
नेपाललाई रोक्ने क्रममा जिम्बावेका जोस्फिन न्कोमोले २, क्रिष्टावेल चटोन्जा र नोम्भेलो सिवान्दाले एक एक विकेट लिएका थिए ।
त्यस अगाडि त्रिभुवन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिड.को निम्ता पाएको २० ओभरको निर्धारित खेलमा ६ विकेट गुमाउँदै १ सय २९ रन जोडेको थियो ।
जिम्बाबेका लागि सर्वाधिक केलिस नध्लोभूले नटआउट ५२ रन बनाइन भने बिलोभ्ड बिजाले ३४ रन बनाइन । खेलमा क्याप्टेन छिपो मुगेरी तिरिपानेले ८, मोडेस्टर मुकाचिक्वाले १४, जोशेपिना न्कोमोले ७ चैत्जा धुरुरुले ४ र क्रिष्टाबेल चटोन्ज्वाले नट आउट १ रनको योगदान दिए ।
जिम्बावेलाई रोक्ने क्रममा नेपालका रिया शर्माले २ तथा कविता कुँवर, सीता रानामगर,पूजा महतो र रुविना क्षेत्रीले एक एक विकेट लिएका थिए ।
समूह ‘बी’ मा रहेका नेपालले यो सहित ३ खेल जितेको छ । अंकतालिकामा चौथो स्थानमा छ । नेपालले समूह चरणमा एक खेल स्कटल्याण्डसंग खेल्न बाँकी छ । नेदरल्याण्ड् र थाइल्याण्डबीच पनि एक खेल हुन बाँकी छ । यता नेदरल्याण्डले जित्यो र थाइल्याण्ड पराजित भयो अनि स्कटल्याण्डलाई नेपालले जित्यो भने नेपाल शीर्ष तीनमा पर्न सक्छ ।
यस अगाडिका दुई खेलमा पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले र जितको नजिक पुगेर नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो।


















