Prakash Adhikari September 7, 2018

 

काठमाडौं, २२ भदौ  । नेपाल वायुसेवा निगमले सरकारी जमानतमा २४ अर्बको ऋणमा खरिद गरेका दुईबटा एअरबस ३३० – २०० सेरिजका जहाजमा भएको ६ अर्ब ५९ करोड घोटालाका निष्पक्ष छानवीन गरि दोषीलाई कारबाहीको दायरा ल्याउन संघीय संसदमा चर्को आवाज उठेको छ ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले यो खरिदमा भएका अनियमिता महालेखा परीक्षकको प्रतिबेदन २०७४ मा समेत स्पष्ट उल्लेख भएको र कमिशन, मूल्यान्तर तथा उडान भार नै घटाएर ६ अर्ब ५९ करोड घोटाला गएको पुष्टि भएकोले यसमा छानवीन गर्न संयुक्त संसदीय समिति गठन गर्न माग गर्नुभयो ।

सांसद बडुले सरकारले खरिद काण्डमा संलग्न पदाधिकारीकै संलग्नतामा छानवीन समिति बनाएर चोख्याउन खोजेको आरोप लगाउदै नेपालको इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचारका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले निष्पक्ष छानवीनका लागि पर्यटन मन्त्री,सचिव र खरिद प्रक्रियामा संलग्न सबैले पदबाट हट्नुपर्ने पनि बताउनुभयो । उहाँले मन्त्रीले यो प्रकरणमा संसदलाई ढाट्ने दुस्प्रयास गरेकोले उहाँले समेत राजिनामा दिनुपर्ने माग गर्नुभयो ।

वाईड बडीका जहाजको कन्तविजोग

नयाँ जहाज उडाने नयाँ क्षेत्र र बजारको व्यवस्था नगरि खरिद गरिएका एअरबस ३३०- २०० सेरिजका दुईवटा वाईड बडी अन्नपुर्ण र मकालुलाई जबर जस्ती छोटो दूरीमा उडाउन थालेपछि पर्याप्य यात्रु नपाएर कन्त बिजोग भएको छ ।

निगमका एक बरिष्ठ पाइलटले दिएको जानकारी अनुसार निगमको अवाईड बडीका जहाज एअरपोर्टमा थन्केपछि आएको आलोचनाबाट बच्न निगम व्यवस्थापनले दुवै जहाजलाई पालैपालो उडाउन निर्देशन दिएको छ । तर पर्याप्त तयारी नभएकोले जहाजमा यात्रु नै छैनन् ।

गत हप्ता निगमले बाईड बडीका जहाज हंगकंग क्षेत्रमा दुईपटक उडायो । दुवै पटक यात्रु संख्या दयनीय भयो । मंगलबार यताबाट जाने उडान नं ४०९ मा बिजनेस क्यासमा २ र इकोनोमिक क्लासमा ८२ जना यात्रु थिए । फर्कदा पनि यात्रु संख्यामा सुधार भएन । झन बिजोग भयो । बिजनेस क्लासमा २ र इकोनोमिक क्लासमा ७२ जना लिएर फर्कियो । यो जहाजको यात्रु सिट क्षमता २ सय ७४ हो । २०० सीट खाली राखेर जहाज उडाइदैछ ।

गत बिहिबार निगमले जम्मा ७३ जना यात्रु लिएर २७४ सीटको जहाज हंगकंग उडायो । जसको बिजनेस क्यासमा ४ र इकोनोमिक क्लासमा ६९ यात्रु थिए ।

फर्कदा पनि यात्रुको संख्यामा सुधार भएन । बिजनेश क्लासमा ६ र इकोनोमिक क्लासमा ७७ जना भए ।

यही स्थिति बिहीबारको दिल्लीको उडानमा पनि देखियो । दिल्लीलाई अत्यधिक यात्रु हुने र जति उडान थपे पनि जहाज भरिने गन्तब्यको रुपमा लिइन्छ । तर बिहीबारको निगमले उडान नं २१७ मा बिजनेस क्लासमा ५ जना र इकोनोमिक क्लासमा २१८ यात्रु बोकेर दिल्ली उड्यो । उताबाट फर्कदा बिजनेस क्लासमा ३ र इकोनोमिकमा १७३ जना भए । २ सय ७४सीटका ३३०-२०० सेरिजका जहाजमा भएको यात्रुहरुको यो दयनीय अवस्थाले बाइड बडीका जहाजको औचित्यमा नै प्रश्न उठाएको छ ।

निगमका एक बरिष्ठ विमान चालकका अनुसार निगमका हाल सञ्चालित रुट सञ्चालन खर्चका हिसाबले साँघुरा आकारका जहाजका लागि मात्र उपयुक्त छन् । साँघुरा आकारका जहाजमा हवाई परिचारिका ७ जना भए पुग्छ तर विस्तारित आकारका बाइड बडीका जहाजमा १३ जना चाहिन्छ । खर्चका हिसाबले यी जहाजहरु हालका उडान क्षेत्रमा उपयुक्त छैनन् । यसबाट नाफा आउने कुरा सपना मात्र हो ।

हंगकंग र दिल्लीमा यस्तो कन्त विजोगको अवस्था भोगिरहेको बाईड बडीलाई बिजनेस दिन निगम व्यवस्थापनले अहिले मलेशियाको क्वालालम्पुरका स्टेशन म्यानेजरहरुलाई दबाब दिइरहेको छ । अहिले मलेशियामा कामदार लैजाने व्यवस्था मिलाउने एजेन्सीको खारेजीले मलेशियाको बजेट एअरलाइन्स भनिएको एअर एशियाले नेपालको उडान बन्द नै गरेको छ । यताबाट जाने प्यासेन्जर छैनन् । दशैका कारण आउनेको संंख्या केही बढ्न सक्ने भएपनि आएपछि जान पाउने वा नपाउने एकिन नभएको कारणले त्यो विगत बर्षहरुमा जस्तो बढ्ने पनि देखिदैन् ।

त्रिभुवन विमानस्थलामा पहिाले बाईडबडी अवतरण गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा निगमका कर्मचारी प्रतिनिधिले साँघुरा आकारका न्यारो बडीका जहाज नै पूर्ण क्षमतामा यात्रु उडाउन असमर्थ रहेको बेलामा बाइड बडीका जहाजलाई यात्रु पुर्याउन निकै चुनौतिको सामना गर्नुपर्ने कुरा बोल्नुभएको थियो । अहिले त्यो प्रमाणित भएको छ ।

निगमभित्र महाप्रबन्धकलाई वाईड बडी नै चाहिनुको कारणको पनि खोजी हुन थालेको छ । निगमले झण्डै एक दशक अगाडी बनाएको बिजनेस प्लानको मूल्यांकन गर्दा कापाले निगमको लागि बाईड बडी हैन न्यारोबडीका जहाज उपयुक्त हुने सुझाब दिएको थियो । त्यस यता निगमले स्थानीय परामर्शदाताको सहयोगमा जहाज खरिदको लागि बिजनेस प्लान बनाए पनि त्यसको मूल्यांकन बाह्य परामर्शदाताबाट गराएको छैन ।

बिहीबार निगम वाइड बडीलाई बिजनेस दिने नाममा पुन पहिलेको गल्ती दोहोर्यो । बिहिबारको उडान तालिकामा बोइड.लाई दिल्लीको उडानमा राखिएको थियो । तर बाइड बडी उडेको देखाउन बोइड.लाई भूमिस्थ गराएर बाइड बडीलाई दिल्ली उतारियो ।

सेप्टेम्बर महिना नेपालको पर्यटकीय सिजन हो । पर्यटकीय सिजनमा निगमका वाईड बडीमा देखिएको यात्रुहरुको निम्न संख्याले यी जहाजहरु बजारको व्यवस्थापन बिना नै खरिद गरिएको पुष्टी भएको छ । जहाज आएको अढाई महिनासम्म पनि एक नयाँ गन्तव्य थप्न नसकेकोले यी जहाजहरु कमिशन, मूल्यान्तर र उडान भार कम गरेर मोटो रकम कुम्ल्याउन मात्र दलालहरुको दबाबमा खरिद गरिएको पुष्टी भएको छ ।

जहाज खरिद प्रकरणका यी अनियमिततामा छानवीन गर्नुपर्ने देखिन्छ :

१) विमान खरिदमा बोइड.ले कमिशन नदिने बरु खरिद मूल्य घटाइदिन प्रस्ताव गरेकोले २००८ मा गरिएको टेण्डर प्रक्रियामा एअरबस भित्र्याउने तारतम्य मिलाइयो र भएको बोइड.लाई बेचेर तिनको सट्टा पनि एअर बस ल्याउने योजना बनाइयो । यसपटकको नयाँ खरिदमा बोइड.लाई छिर्ने बाटै बन्द गरियो । एअर बसमा पनि निर्माता कम्पनीलाई सीघै सहभागी हुन नदिएर दलालहरुबाट सेकेण्ड ह्याण्ड जहाज लिने भन्ने टेण्डर(आरएफपी) निकालेर दलालमार्फत नयाँ जहाज किन्ने प्रबन्ध मिलाइयो ।

२) एअर बससंग सीधै कारोबार गर्दा तौल घटाउने र मूल्य बढाउने जस्ता अनियमित काम गरि रकम कमाउन नसकिने भएकोले निगम व्यवस्थापनले दलालहरुमार्फत जहाज किन्ने चोरबाटो अपनाएको देखिन्छ ।निगमको आर्थिक विनियमावलीकोे परिच्छेद २६ दफा २३६(१) मा नयाँ विमान खरिद गर्दा उत्पादकसंगमात्र प्रतिस्पर्धा गराएर खरिद गर्ने व्यवस्थालाई उल्लंघन गरेर २३६(२)को पुरानो विमान खरिदको टेण्डर मागेर नयाँ विमान खरिद गर्ने प्रपञ्च मिलाइयो । टेण्डरमा १००० घण्टासम्म उडेका र २०१४ पछि बनेको जहाज दिन प्रस्ताव माग गरिएको थियो ।  निगमले २०१६ को सेप्टेम्बर २६ मा ४५ दिनको समयावधि राखेर ग्लोबल टेण्डर( रिक्वेष्ट फर प्रपोजल) मागेको थियो । यसमा १० वटा कम्पनीले भाग लिएका थिए ।

३) प्राप्त प्रस्ताव मध्ये अमेरिकाको एएआर इन्टरनेशनल इन्क कर्पोरेशनले २४२ मेटिक टन अधिकतम उडानभार भएका जहाज प्रति जहाज १०४.८ मिलियन डलरमा (२०१६ को आधार मूल्यमा) दिने प्रस्ताव गर्यो । उसले हाई फ्लाई एरोज पोर्चुगलको नयाँ जहाज दिने प्रस्ताव गरेको छ । ऊसहित ३ वटा कम्पनीले नयाँ जहाज दिने प्रस्ताव गर्दा पनि नयाँ जहाज नियमअनुसार निर्माता कम्पनीहरुसंग किन्नपर्ने विषयमा निगमको मूल्यांकन उपसमिति, निगमको व्यवस्थापन र सञ्चालक समितिको ध्यान पुगेको देखिदैन ।

४) एएआर सहित निगमलाई जहाज दिन इच्छुक १० वटा प्रस्तावदाताहरुको प्रस्ताव मूल्यांकन गर्न निगमको प्राविधिक तर्फका कामय मुकायम नायबमहाप्रबन्धक रमेश बहादुर शाहको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले यो सेरिजका विमान एअरबसले २०१६ मा करिब ८८.१ मिलियन (८८,०९९,३१७) डलरमा दिन तयार रहेको तथ्य सामेल गरेको छ ।(यो मूल्यांकन समितिको रिपोर्टमा उल्लेख छ)

 

५)मूल्यांकनमा सबैभन्दा कम मूल्य आएको थाहा पाएपछि एएआर इन्टरनेशलले पोर्चुगलको हाइफ्लाई एरोज, जर्मनीको जर्मन क्यापिटल एभिएसन जीएमबीएचसंग कन्सोर्टिमय बनाएको देखिन्छ । टेण्डरमा यस्तो प्रावधान उल्लेख छैन् ।

 

६) निगमसंग २७ जनवरी २०१७ मा जहाज आपूर्तिको समझदारी गर्दा अमेरिकाको एएआर इन्टरनेशन बिक्रेताको रुपमा रहेको छ ।

 

७) मूल्यांकन समितिले २४२ मेट्रिक टन क्षमताको जहाज प्रस्तावित मूल्यमा नेगोसियन गरेर लिन सकिने सिफारीस गर्यो । र सञ्चालक समितिले पनि सोही अनुसार जहाज खरिद गर्ने निर्णय गरी समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दियो । तर व्यस्थापनबाट यहाँनेर ठूलो बद्मासी भयो । समझदारी पत्रमा कम्पनीले टेण्डरमा प्रस्ताव गरेको भन्दा प्रति जहाज १२ मेट्रिक टन कम उडानभार भएका जहाज उही मूल्यमा ल्याउने प्रावधान राखियो ।

 

८) समझदारी पत्रमा कम्पनीले प्रस्ताव गरेको भन्दा कम उडानभार क्षमताको जहाज ल्याउने प्रावधानमा हस्ताक्षर गरेको थाहापाए पछि निगमका केही निर्देशकहरुले व्यवस्थापन समक्ष तौल घटेपछि मूल्य घटाउनु पर्ने माग सहित ज्ञापन पत्र दिएका थिए । उनीहरुलाई उल्टो विभागीय कारबाही गरियो । अन्तिम संझौतामा त्यसलाई सच्याउने प्रयाससम्म गरिएन ।

 

९) संसारभर वस्तु तथा सेवा खरिदको संझौता गर्दा प्रस्तावकले पेश गरेको मूल्य घटाउन खरिदकर्ताले वार्ता(नेगोसियसन) गर्ने प्रचलन छ । तर निगमको यो खरिदमा अनौठो प्रवृत्ति देखियो । उसले २०१६ को आधार मूल्यमा बाषर््िाक मूल्यबृद्धि थपेर दिनसकिने कुरा स्पष्ट उल्लेख गर्दा पनि निगमको व्यवस्थापनले उल्टो मूल्य बढाउने प्रवृत्ति देखायो । र उसले प्रति जहाज १०४.८ मिलियनदेखि १०९ मिलियन नबढ्ने गरी भनेर प्रति जहाज करिब ५ मिलियन डलर गरी १० मिलियन डलर बढायो । निगमका पुराना कर्मचारी भन्छन,निगमको हित चाहने व्यवस्थापनले मूल्य घटाउने र यस्तो उडानभार बढाउने प्रयास गर्नुपर्नेमा उल्टो काम भयो ।

१०) समझदारी पत्रमा जहाज खरिदको प्रतिबद्धता शुल्क प्रतिजहाज ५ लाख डलरका दरले १०लाख डलर( १ मिलियन डलर) हाई—फ्लाई ट्रान्सपोर्ट एरोज पोर्चुगलको नाममा रहेको स्वीस खाता (Bank Credit Suisse, paradeplatz 8, Zurich, 8070,Switzerland, IBAN CH86048350766097222000, SWIFT:CRESCHZZ80L) मा जम्मा गर्नुपर्ने र सामान आपूर्तिपूर्वको भुक्तानी विक्रेताले भनेको खातामा पठाउनुपर्ने उल्लेख छ ।

११) तर समझदारीपत्रमा हस्ताक्षर गरेपछि पनि निगमको व्यवस्थापन यसमा आउने कमिशन, मूल्य बढाएर खाने रकम सहजै पचाउन सकिने देखेन र जहाज किन्ने समझदारी भएर प्रतिबद्धता शुल्क पठाइसकेपछि हाइफ्लाई एक्स आयरल्याण्ड नामक कम्पनी २०१७ को फेब्रुअरी २१ मा आयरल्याण्डको डब्लिनमा दर्ता गरियो र यसलाई कन्सोर्टियममा सामेल गरियो। यो कमिशन र एअरबसको बास्तविक मूल्य तिरेर बाँकी बचेको रकम खान तयार पारिएको कम्पनी भएको अनुमान छ । आयरल्याण्डको डब्लिनमा दर्ता गरिएको यो कम्पनीको उद्देश्य हवाइजहाजका पार्टपूर्जा विक्री गर्ने राखेको देखिन्छ । तर अप्रिल ७ मा अन्तिम खरिद बिक्री संझौता गर्दा यो कम्पनीलाई बिक्रेता बनाइयो ।

१२)अन्तिम खरिद बिक्री संझौता गर्दा खरिद रकम यसमा संलग्न कुनैपनि कम्पनीको खातामा जाने व्यवस्था गरिएन । यी कम्पनीहरुको खाता स्थायी प्रकृतिको हुने र कुनैपनि बेला संलग्न मुलुकका निकायहरुबाट छानवीन हुनसक्ने देखिएकोले संझौतामा नयाँ प्रावधान राखियो , एस्क्रो एजेण्ट राख्ने । एस्क्रो एजेण्टलाई १० हजार यूरो शुल्क विक्रेता दिने प्रावधान राखियो ।

१३) जहाज खरिद विक्रीको काममा सघाउन जर्मनीको म्युनिखमा रहेको नर्टन रोज फुल ब्राइट नामक कम्पनीलाई एस्क्रो एजेण्ट नियुक्त गरियो । उसको नाममा जर्मनीको युनि क्रेडिट बैंक एजी(पुरानो हाइपरभेरेन्स बैंक)मा खाता खोली निगमले पठाउने पैसा त्यसमा जम्मा हुने र एअरबसलाई तिर्नुपर्ने रकम सोही खाताबाट न्यूयोर्कमा रहेको डच बैंक ट्रष्ट कम्पनी अमेरिका मार्फत एअरबसको खाता नंं ०४८८७१९८ मा पठाउने संझौता गरियो (Beneficiary Name: AIRBUS SAS,Account Identification :04887198)with (DEUTSCHE BANK Trust Company Americas,SWIFT: BKTRUS 33, ABA : 021001033, Global Transction Banking,Floor 25, 60 Wall Street, New York,NY, USA) कन्सोर्टियमका कुनै पनि साझेदारको खाता उपयोग नहुनु र सीघै एअरबसलाई तिर्ने व्यवस्था नहुनु तथा निगमले नर्टन रोज र यूरोपमा रहेको नर्टन रोजले सीधै एअरबसको खातामा नहाली न्यूयोर्कमा रहेको र्जमन बैंकमार्फत पैसा पठाउने प्रबन्ध आफैमा रहस्यमय छ ।

१४) दोस्रो र अन्तिम किस्ता रकम बुझाउनु अगाडि निगम व्यवस्थापनसंग नेपाल राष्ट्र बैंक र निगमलाई जहाज खरिद गर्न कर्जा उपलब्ध गराउने कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषले निगमले खरिद बिक्रीको संझौता गरेपछि पहिलो किस्ता स्वरुप पठाएको रकमको भुक्तानी रसिद माग गरेका थिए । तर निगम व्यवस्थापनले दिन सकेन् । उल्टो निगमले पठाएको पैसा पाइएको भन्ने व्यहोराको पत्र एअरबसबाट मगाइयो । निगम व्यवस्थापनले पहिला एअरबससंग ३२०—२०० सेरिजका जहाज किन्दा हरेक पटक पाएको रकमको अंक र अक्षरमा किटानीसहित उल्लेख गरेर जवाफ दिने गर्दथ्यो ।

१५) उडानभार कम भएकोले यी विमानले अष्ट्रेलियासम्मको उडान गर्न नसक्ने भएका छन् । १२ मेट्रिक टन उडानभार कम गर्दा यसको इन्धन राख्ने क्षमता पनि ह्रास भएको छ ।

१६) सीधै कम्पनीसंग नलिएर दलालहरुसंग लिएको हुनाले यो खरिदमा इञ्जिनको वारेन्टी छैन । सामान्यता इञ्जिनको वारेन्टी ४ बर्ष रहन्छ । इन्जिनको वारेन्टी नभएको थाहा भएपछि निगमले २० मार्च २०१८ मा इन्जिन मर्मत संभारकोलागि सूचिकृत हुन विज्ञापन निकाल्यो । तर त्यसमा सीधै कमिशन खान नपाउने देखिएपछि त्यसको मिति कायम रहदै चैत्र २० गते होटल सांग्रिलामा पत्रकार सम्मेलन गरेर १२ बर्षसम्म रोल्स रोयस भन्ने कम्पनीलाई इञ्जिन मर्मत गर्न दिने प्रस्ताव सार्वजनिक गरियो । प्रति महिना ६ करोडका दरले १२ बर्षसम्म झण्डै ९ अर्बको ठेक्का दिएर त्यसमा पनि अग्रिम कमिशन खाने नियत निगम व्यवस्थापनले देखायो ।

१७) विक्रेताले निगमलाई पहिले १८४५ र १८५४ उत्पादन सेरिज नम्बर(एमएसएन) भएका जहाज उपलब्ध गराउने भनेको थियो । तर निगमको टोली जहाज उत्पादक कम्पनी एअरबसको कारखानामा जाँदा १८७२ र १८७८ नम्बरका जहाज देखाइयो । पहिले प्रस्तावित जहाज तीन महिना पहिल्यै तिब्बत एअर र स्पेनको आइबेरिया एअरलाइन्सले उडाएको पाइयो । ती जहाजहरु २४२ मेटिक टन क्षमताको हुनाको साथै तीनले ३ महिना अगाडिदेखि आम्दानी दिएका छन् । निगम तीन महिनाको संभावित आम्दानीबाट बञ्चित भएको छ ।

१८) निगम व्यवस्थापनले नयाँ जहाज लिदा अर्डर गरी बन्न समय लाग्ने भएकोले चाडै जहाज ल्याएर सञ्चालन गर्न पुराना जहाज लिने प्रक्रियामा गएको दावी गर्दै आएको छ । तर निगमले ल्याएका जहाज हाइफ्लाई एभियसन पोर्चगलले २०१७ को २१ जुनमा अर्डर गरेको हो । दुवै जहाज १ बर्ष नपुग्दै १९ जुन २०१८मा तयार भैसकेका थिए । निगमले टेण्डर प्रक्रिया २०१६ को सेप्टेम्बरमा नै आरम्भ गरेको हुनाले उत्पादक कम्पनीसंग किनेको भए यो भन्दा छिटो आउने स्वतःसिद्ध हुन्छ । निगमले ३२०—२०० सेरिजका साँघुरा आकारका जहाज २०७२ मा आफैले अर्डर गरेर ल्याएको थियो ।

१९) जहाज उत्पादक कम्पनी एअरबसले सीधै खरिद गर्दा विभिन्न छुटहरु दिने गर्दछ । निगमले साँघुरा आकारका जहाज लिंदा सो छुटको लाभ पाएको थियो । तर एक वाइडबडीलाई साँघुरा आकारका २ जहाजको मूल्यभन्दा पनि बढी तिरेर ल्याउने खरिद कार्यमा निगमले कुनै छुटको प्रस्ताव गरेको देखिदैन । यस अगाडिको जहाज खरिदका समयमा मूल्य नेगोसियसनमा एअरबसले आफूले अफर गरेको औपचारिक मूल्यमा साँघुरा आकारका एअरबस ३२०—२०० सेरिजका विमानमा ४३ दशमलव ५ प्रतिशत र ठूला आकारका ३३० —२०० सेरिजका विमानमा झण्डै आधा अर्थात ४९ प्रतिशत अर्थात झण्डै आधा छुट दिएको छ ।

अघिल्लो खरिद मूल्य हेर्नुहोस्

विगतमा निगम र एअरवसबीच सम्पन्न समझदारी पत्रको दफा ४ मा जहाजको मूल्य उल्लेख गरिएको थियो । जसको दुइ आइएइ इञ्जिन सहित एअर फ्रेम,एससीएन, र वायर्स फर्निसिड. मूल्य यस्तो थियो(मूल्य अमेरिकी डलरमा):
एअर फ्रेम बेस प्राइस       ५५,६०४,०००
एससीएन बजेट                १,२२०,०००
एअर फ्रेम जम्मा              ५६,८२४,०००
इञ्जिन बेस प्राइस           १६,,२५३,१४३
जहाजको कूल मूल्य( २००८जनवरीको) ७३,०७७,१४३

खरिद प्रोत्साहन
एअर फ्रेम क्रेडिट                 १४,०००,०००
न्यू कस्टोमर क्रेडिट मेमो      २,५००,०००
ल्फ्टि सर्पोट क्रेडिट मेमो        २,३००,०००
एअर बस गुड्ज एण्डसर्भिस सीएम १,०००,०००
ट्र्ेनिड. एण्ड काउन्सेलिड.    १,०००,०००
प््रमोशनल सिएम                    ५००,०००
इस्टिमेटेड इन्जिन कन्सेसन( २ ६०५ )९,८००,०००
एअरबस नेट फ्लाइ अवे प्राइस(जनवरी २००८) ४१,९७७,१४३
प्याकेज डिल क्रेडिट मेमो                            १,०००,०००
क्ूल खरिद मूल्य                                     ४०,९७७,१४३
बायर्स फर्निस बजेट                                     १,९७०,०००
इस्टिमेटेड बायर्स फर्निस  कन्सेसन(२२०५ )   ३९४,०००
नेट फ्लाइ वे प्राइस विथ बीएफइ                ४२,५५३,१४३
लक अप प्राइस                                           ४१,२८९,०००

२०) यो खरिदमा निगम व्यवस्थापनले प्रति जहाज १०८.२ मिलियन डलर तिरेको छ । यो रकम मूल्यांकन समितिले सिफारीस गरेको ८८ मिलियनमा बार्षिक मूल्य बृद्धि थप गर्दा हुने ९३.०५ मिलियन डलर भन्दा धेरै बढी हो ।

२१) जहाजको तौल कम गरेर निगम व्यवस्थापनले करिब ९० करोड रुपया घोटला गरेको छ । निगमलाई जहाज प्रस्ताव गर्दा एक कम्पनीले अधिकतम उडान भार बढाउदा प्रति मेट्रिक टन ३ लाख ५० हजार डलर लाग्ने उल्लेख गरको छ । प्रति जहाज १२ मेट्रिक टनका दरले दुइवटा जहाजको २४ मेट्रिक टन कम गरेर सो रकम पचाइएको छ ।

२२) हवाई सेवामा संलग्न व्यवसायीहरुका अनुसार हवाई जहाज खरिदमा उत्पादकहरुले १०प्रतिशत क्रेतालाई कमिशन दिने गर्दछन् । २४ अर्बको खरिदमा नेपाल वायुसेवा निगमको व्यवस्थापन र दलालहरु मिलेर सीधै २ अर्ब ४० करोड कमिशन पचाएका छन् ।

२३) कमिशन, अधिकतम उडान भार कटौती र मूल्यान्तर गरि २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको छ । यही रकम पचाउनका लागि नियम मिचेर दलालमाथि दलाल सिर्जना गरेर जहाज खरिद गरिएको हो ।

२४)महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७४ मा यस विषयलाई गम्भीर ढंगले उठाइएको छ । नियमावलीमा किटानी भएको व्यवस्थालाई नियोजित रुपमा निष्क्रिय पारी आफूखुसी अधिकारको प्रयोग गरिएको स्वेच्छाचारी प्रवृत्ति र अख्तियारको दुरुपयोगको रुपमा यसलाई ब्याख्या गरिएको छ ।

२५) निगमको लेखा परिक्षणमा गएका लेखा परिक्षकहरुले प्रारम्भिक परीक्षणमा निगम व्यवस्थापनले नियम मिचेर सार्वजनिक खरिदमा प्रचलित नियम कानूनको ठाडो उल्लंघन गरी जहाज खरिद गरेको भेट्टाएपछि महालेखा परीक्षक टंकमणि शर्माले निगमका महाप्रबन्धक र सञ्चालकहरुलाई बोलाएर यसको बारेमा जानकारी लिनुभएको थियो तर फटाहाहरुले ४ पाँच देशको कुटनीतिक सम्बन्ध विगन्छ भनेर छत्र्याए । केवल कमिशन खानको लागि दलालमाथि दलाल राखेर गरिएको यसकाममा कुनैपनि देशका सरकार संलग्न छैनन् ।

२६)कमिशन खानमात्र लालयित निगम व्यवस्थापनले नयाँ ठूला जहाज ल्याएपछि तिनलाई कहाँ उडाउने भन्ने व्यवस्था पनि गर्न सकेको छैन । निगम व्यवस्थापनले दुई वाईड बडी जहाजको खरिद सम्बन्धी व्यापारिक प्रतिवेदन तयार पार्दा र जहाज सञ्चालन हुने संभाव्य गन्तव्यहरुको सूचि टेण्डरमा उल्लेख गर्दा निगमले अष्ट्रेलियाको सिड्नी,मेलबर्न, ब्रिसबेन सहित लण्डनको गेटविक र हेथ्रो, फ्रांकफर्ट,टेकिया,सोल,बेइजिड।, चेन्नाई, मुम्बई, दिल्ली,ओसाका, संघाई, हंगकंग ,गोञ्जाउ, क्वालालम्पुर, बैंकक, सिंगापुर,दोहा र दुबाईलाई उल्लेख गरेको छ ।

तर विडम्बना दुवै जहाज काठमाडौं उत्रेर व्यापारिक उडान थाल्दा पनि निगम व्यवस्थापनले एक पनि नयाँ गन्तब्य थप्न सकेन । पहिले २ वटा बोईड.ले धानेका क्षेत्रमा यिनलाई उडाउनुपर्ने बाध्यता परेको छ । यसले समग्र व्यापार बढाउदैन ।

२७) निगमको व्यवस्थापनले न आन्तरिक तर्फका जहाज उडाउन सकेको छ , न हालै थपिएका नयाँ ठूला जहाजलाई पुग्ने गरी क्षेत्र विस्तार गर्न सकेको छ । नेपाल वायुसेवा निगमको बेडामा अहिले १३ वटा जहाज चालु अवस्थामा रहेका छन् । निगममा आन्तरिक उडानतर्फ २ वटा क्यानेडियन डीएचसी ६ ट्वीनओटर, ४ वटा वाई १२, २ वटा एम वे ६० गरि ८ वटा र अन्तराष्ट्रिय उडानतर्फ २ वटा एअरबस ३३०—२०० सेरिजका वाइड बडी, २ वटा ३२०—२०० सेरिजका एअरबसका न्यारो बडी र एक बोइड.को ७५७ गरी ५ जहाज रहेका छन् ।यी जहाज आउनु अगाडि दैनिक १ करोेड नोक्सान व्यहोर्दै आएको निगम केही समयमा तलब समेत खान नसक्ने अवस्थामा पुग्ने बताइन्छ ।

२८)निगमको यो दुरावस्था र आफ्नो कमजोरीलाई ढाकछोप गर्न निगम व्यवस्थापनले अहिले आन्तरिक उडानमा ५ अर्बका भाईकिंग नामक ट्वीन ओटर विमान ल्याएर मन्त्री तथा राजनेताहरुलाई कमिशन ख्वाउने हरियो घास देखाएको छ । निगमको अवस्था निकै दयनीय छ ।

२९) निगममा यति लापरबाही छ कि गत पुस महिनामा सगरमाथा नामक जहाजको इन्जिन दिल्लीमा बिग्रेर २ महिना थन्कियो । मर्मत पछि ३ महिना नपुग्दै फेरि दिल्लीमा थन्कियो । मर्मतको ३ महिना नपुग्दै दोहामा थन्कियो ।

३०) आरएफपीमा एक जहाज १०१७ को सेप्टेम्बर र अर्को जहाज २०१८ को मार्चमा दिनुपर्ने कुरा उल्लेख थियो तर निर्धारित समयभन्दा पछि दिएमा विक्रेताले क्षतिपूर्ति दिनुपर्ने प्रावधान निगमको व्यवस्थापनले राख्न चाहेन । संसारभर यस्तो प्रावधान राखिन्छ र क्षतिपूर्ति पाएका उदाहरण पनि छन् ।

 

Share Now

Leave a comment.