Prakash Adhikari September 7, 2018

काठमाडौं, २२ भदौ(बीबीसी) । नेपालको दुईदिने भ्रमणमा आएका भारतीय भूतपूर्व प्रधानमन्त्री एचडी देवगौडाले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्च अधिकारीहरूसँग भेटघाट गरेका छन्।

शुक्रवार बिहानै उनले पशुपतिनाथको मन्दिरमा पूजा तथा आराधना गरे।

सपरिवार नेपाल भ्रमणमा आएका ८५ वर्षीय देवगौडा भारतको कर्नाटक राज्यमा गठबन्धन सरकारमा सामेल जनता दल सेकुलरका नेता पनि हुन्। शुक्रवार साँझ उनी भारत फर्किनुअघि हाम्रा सम्वाददाता सुरेन्द्र फुयालले देवगौडासँग गरेको कुराकानीको अंश –

तपाईँले पशुपतिनाथसँग आफ्नो दल सहभागी सरकारको लागि आशीर्वाद माग्नु भएको हो?

हाहाहा.. मैले सबैका लागि आशीर्वाद मागेँ। कर्नाटकको सरकार वा भारत सरकारका लागि आशीर्वाद माग्ने भन्ने कुरो होइन। यो त पशुपतिनाथप्रति आस्था राख्ने सबै मानिसका लागि आशीर्वाद माग्ने कुरो हो। पशुपतिनाथको इतिहास कस्तो छ भने उनले सबै प्राणीको रक्षा गर्दछन्। उनले सबै प्राणीको रक्षा गर्दछन्।

नेपाल-भारत सम्बन्धको कुरा गर्दा तपाईँको विचारमा दुई देशबीचको सम्बन्ध, खासगरी सन् २०१५ मा नेपाल-भारत सीमामा नाकाबन्दी भएपछि कसरी अघि बढिरहेको छ?

मलाई जेजति जानकारी छ त्यस्को आधारमा भन्नु पर्दा सबै कुराहरू अघि बढिरहेका छन् र अझै राम्रो हुन लागिरहेको छ
एचडी देवगौडा

सम्बन्ध सुधार भइरहेको छ। हालै नेपाल र भारतका प्रधानमन्त्रीहरूबीच भेटघाट पनि भएको छ। दुवैले व्यापार सुरक्षा र अन्य विषयबारे निश्चित समझदारी बनाएका छन्। मलाई लाग्छ धेरै कुराहरू अघि बढिरहेका छन्।

तपाईँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल हेर्ने नीतिप्रति खुसी हुनुहुन्छ?

नेपाल महत्त्वपूर्ण छिमेकीहरूमध्ये एक हो। हामीलाई सधैँ नेपालको सहयोग आवश्यक पर्दछ। खासगरी संस्कृति, व्यापार र सुरक्षाजस्ता विषयमा दुवै देशको चासो छ। दुवै देश सँगसँगै जानु धेरै महत्त्वपूर्ण छ र मेरो विचारमा मोदीले सक्दो राम्रो गर्ने प्रयास गरिरहेका छन्।

के तपाईँका विचारमा मोदीले सही कदम चालिरहेका छन्?

म उनको कामलाई सदर गर्ने वा प्रमाणपत्र दिन गइरहेको छैन। भारतको पूर्वप्रधानमन्त्रीको नाताले म यति मात्र भन्न सक्छु कि नेपालमा नयाँ सरकार बनेको पनि भर्खर छ महिना भएको छ। मलाई जेजति जानकारी छ त्यस्को आधारमा भन्नु पर्दा सबै कुराहरू अघि बढिरहेका छन् र अझै राम्रो हुन लागिरहेको छ।

द्विपक्षीय सम्बन्धमा कुनै कमीकमजोरी छन् कि?

दुवै पक्षले सम्बन्ध सुधार गर्न सक्दो प्रयास गरिरहेका छन्।

Share Now

Leave a comment.