Prakash Adhikari February 3, 2026
टोकियो(जापान) २१ माघ। राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर आज यहाँको नारिता विमानस्थलबाट स्वदेश प्रस्थान गर्नुभएको छ ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आउनुभएको थियो ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुभयो । उहाँले सो समारोहलाई सम्बोधन गर्नुभयो ।
त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुभयो । उहाँसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नुभयो । भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरुको कार्यक्रमलाई पनि उहाँले सम्बोधन गर्नुभयो । उहाँले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गर्नुभयो ।
नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।
राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणका लागि आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गर्नुभएको थियो ।
नेपाली समुदायलाई सम्बोधन
राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार  यहाँ आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
“आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले जापानमा विभिन्न पेशा र क्रियाकलापमा आवद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आईपरेका समस्याको समाधान गर्न नेपाल सरकार प्रतिवद्ध छ भन्नुभयो ।
उहाँले नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अङ्गिकार गरेसँगै मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने मार्गमा उच्च गतिका साथ अघि बढाउन आवश्यक छ भन्नुभयो । राष्ट्रपति पौडेलले राज्य सञ्चालनमा पारदर्शिता जवाफदेहिता, सहभागिता एवम् विधिको शासनलाई केन्द्र भागमा राखेर जनमानसमा प्रभावकारी सेवा प्रवाहको प्रत्याभूति हुनुपर्नेमा जोड दिनुभयो ।
“नेपालमा भएको युवा पुस्ताको आन्दोलनबाट सुशासनको माग अझै मुखरित भएको छ, यसै अनुरुप जनताको सर्वोपरी हित रक्षा गर्दै सुशासन मार्फत देशको समृद्धिका  लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन गइरहेको छ, यो निर्वाचन पछि मुलुकमा स्थायित्व र विकासको थप नयाँ सम्भावनाहरू खुल्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
त्यसैले आसन्न निर्वाचन सफल बनाउन विदेशमा रहेका नेपालीले आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव एउटा ऐतिहासिक क्षण भएको बताउँदै उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेकाले औद्योगिक विकास, कृषि, जलविद्युत, पूर्वाधार लगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी थप लाभान्वित हुन चाहन्छौं भन्नुभयो । उहाँले मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि क्षेत्रमा जापानी सहयोग उल्लेखनीय रहेको स्मरण गर्नुभयो ।
“द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौं, हामी उहाँहरूलाई सुरक्षित व्यावसायिक वातावरण प्रदान गर्न कटिवद्ध छौं, यहाँका लगानीकर्ताहरू माझ यो सन्देश पु¥याउन म तपाईहरूलाई आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
नेपाल र जापानबीच गौतम बुद्धको शिक्षाबाट प्रेरित गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएको र बुद्धको जन्मस्थल लुम्बिनीले नेपालप्रतिको आकर्षणलाई बढाएको उहाँको भनाई थियो । “सांस्कृतिक, धार्मिक र पर्यटकीय उद्देश्यले नेपाल भ्रमणका लागि जापानी पर्यटकको सङ्ख्यामा अझ वृद्धि गराउन अनौपचारिक राजदूतको रुपमा तपाईहरूको महत्वपूर्ण भूमिका रहने छ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
जापानमा नेपाली समुदायको उपस्थिति हुनु द्विपक्षीय सम्बन्धको उल्लेखनीय पक्ष रहेको र नेपाली समुदायले आफ्नो पौरख, इमान र एकताको माध्यमबाट जापानको समुन्नतिमा महत्वपूर्ण योगदान गर्दै नेपालको छविलाई सदैव उचाईमा पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले यसप्रकारका भ्रमणले नेपाल र जापानबीच विद्यमान सम्बन्ध एवम् सहयोगलाई अझ परिणाममुखी तथा बहुआयामिक बनाउन महत्वपूर्ण योगदान पुग्नेछ भन्नुभयो ।
जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउनुभएको छ । उहाँले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग नेपालले मिलेर काम गर्न चाहेको स्पष्ट पार्नुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले मंगलवार गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
“हामीप्रति जापान सरकारको निरन्तर सहयोग,  सद्भावना र समझदारीका लागि आभारी छौँ, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हामीबीच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो भन्दै उहाँले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताउनुभयो ।
नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको छ भन्नुभयो । “यसका लागि नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्वर्पूण योगदान पुगेको उहाँको भनाइ थियो ।
“नेपाल अतिकम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुने क्रममा नेपालले जापानबाट, सदाझैँ सहयोग र सद्भाव प्राप्त गर्ने नै छ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । विश्व शान्ति, स्थायित्व र भाइचाराजस्ता बुद्धको दर्शनमा विश्वास गर्ने दुवै देशका लागि बुद्ध जन्मभूमि लुम्बिनीले दुवै देशका जनताबीच बलियो पुलको काम गरेको उहाँको भनाइ थियो । उहाँले जापानमा चाँडै हुन लागेको आम निर्वाचनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानको लागि र यस क्षेत्रकै लागि महत्त्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो । जापानका प्रधानमन्त्री तकाइची सनायले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने पनि बताउनुभयो ।
उहाँले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सम्पर्क र जापानी नागरिकले नेपालको हिमालहरू चढ्ने गरेकोजस्ता कारणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै गएको बताउनुभयो ।
प्रधानमन्त्री सनायले नेपाल जापान कूटनीतिक सम्बन्धका अवसरमा दुबै देशबीच झन प्रगाढ होस् भन्दै जापानले नेपालको सूूचना प्रविधिको क्षेत्रमा र लोकतन्त्रका लागि निरन्तर सहयोग गर्ने पनि बताउनुभएको थियो ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुग्नुभएको हो ।
उहाँले यसअघि सोमबार जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले उहाँसँग शीष्टाचार भेट गर्नुभएको थियो ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन गर्नुभयो । साथै, उहाँले जापानस्थित नेपाली राजदूतावासको अवलोकन पनि गर्नुभयो । आजै उहाँले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुभएको थियो ।
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतवार जापान प्रस्थान गर्नुभएको थियो ।
Share Now