पोखरा(कास्की), २१ माघ । नेपाल साफ यू १९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ।
पोखरा रंगशालामा आज भएको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० ले पराजित भयो। यो पराजयसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई २-१ ले हराएको थियो।
चार राष्ट्र सम्मिलित खेलमा भारत र बंगलादेश फाइनलका लागि खेल्ने भएका छन् । बंगलादेश आफूले खेलेका तीन वटै खेलमा अपराजित रह्यो भने भारत नेपाल र भुटानलाई पराजित गर्यो ।
प्रतियोगिताको फाइनल यही माघ २४ गते शनिवार हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का पदाधिकारीहरुले जुनदिन बेल्जियन प्रशिक्षक युनियन अफ युरोपियन फुटबल एशोसिएसनका प्रो लाइसेन्स होल्डर प्याट्रिक डे वाइल्डलाई षड्यन्त्रमुलक ढंगले अपमानित गरेर संझौता अनुरुप काम गर्न नदिई बिचमै छोड्न बाध्य पारे त्यही दिनदेखि नेपाली महिला फुटबल उभो लाग्न सकेन । नेपाली महिला फुटबलरहरु प्रतियोगितामा सहभागी हुनुमै गर्व गर्नुपर्ने अवस्थामा छन् । घरेलु मैदानमा होस् वा विदेशी मैदानमा उनीहरुमा खेल जित्ने उत्साह मरेको छ । थप कला सिक्न पाएका छैनन् ।








