Prakash Adhikari February 5, 2026

चेन्नाई(तामिलनाडू,भारत), २२ माघ। आईसीसी टी २० विश्वकपका लागि भारत आइपुगेको नोपली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल पनि जितेको छ ।

नेपालले विश्वकप खेल्ने अर्को टोली क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।

तामिलनाडू राज्यको राजधानी चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

वार्मअप खेलमा यो नेपालको लगातार दोस्रो जित हो। यसअघिको पहिलो वार्मअप खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

क्यानडाविरुद्धको खेलमा आशिफले सर्वाधिक ५८ रन बनाए। २९ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। सन्दीप जोरा ४४ र ओपनर कुलश भुर्तेल १२ रनमा आउट हुँदा गुलसनकुमार झाले अविजित ३१ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए भने लोकेश बमले ५ ।

नेपाललाई रोक्ने क्रममा क्यानडाका जसकरनसिंह,साद बिन जाफर र अजयबीर हुँदालले एकएक विकेट लिए ।

यसअघि चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो।

क्यानडाका नवनित धालिवलले सर्वाधिक ४१ रन बनाए। उनले ३६ बलमा एक चौका र ३ छक्का प्रहार गरे। श्रीयस मोब्बा ३८, कँवरपाद ताथगुरले २५ रन, जसकरणसिंहले २१, श्रीयास मुभले १९, निकोलास कीर्तनले १०, हर्ष ठाकरले ८, युवराज शामराले ७ र शिभम् शर्माले १ रनको योगदान दिएका थिए ।

क्यानडालाई रोक्ने क्रममा नेपालका कुुशल भुर्तेल र सन्दीप लामिछानेले समान २ । २ तथा सोमपाल कामी र नन्दन यादवले १ । १ विकेट लिए।

Share Now