Prakash Adhikari February 5, 2026

काठमाडौँ, २३ माघ : प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ ।

काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र आगामी वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।

पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञको रोष्टर अद्यावधिक गर्ने एवं पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्डलाई पुनरावलोकन गरी वर्गीकरण प्रक्रियालाई यथार्थपरक, वस्तुनिष्ठ एवं समयानुकूल बनाउन आवश्यक कार्य गरिने काउन्सिलले जनाएको छ ।

यस्तै, काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार र परिमार्जन गरिनेछ । पत्रपत्रिकासहित सञ्चारमाध्यमको अभिलेख अद्यावधिक गर्ने र अद्यावधिक गर्ने सन्दर्भमा देखिएका समस्या एवं चुनौतीलाई समाधान गर्न, अभिलेखसम्बन्धी अवधारणापत्रसहित कार्ययोजना तयार गर्ने काउन्सिलले निर्णय गरेको छ ।

बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न/गराउन सम्बन्धित सबैमा अपिल गरेको छ ।

बैठकले त्रिपुरासुन्दरी गाउँपालिकामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरू त्रिपुरासुन्दरी माई भगवती मन्दिर, फटिक खम्बा, नरसिंहधाम तथा नीलकण्ठ नगरपालिकामा अवस्थित भैरवी माई मन्दिरलगायत स्थलको संरक्षण, प्रवर्द्धन तथा व्यवस्थित विकासका लागि प्राथमिकता साथ यसको प्रचारप्रसार गर्न धादिङका सञ्चारमाध्यमहरूसँग आग्रह गर्ने निर्णय गरेको छ ।

पचास वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गरिने 
प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने भएको छ ।
धादिङको सल्यानटारमा बसेको काउन्सिल बोर्ड बैठकले ‘निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने’ निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी र प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार÷परिमार्जन गर्ने समेत उक्त बैठकले निर्णय गरेको छ ।
बैठकमा चालु आर्थिक वर्षको हालसम्मको कार्यक्रम, प्रगति तथा थप कार्यक्रमसहित निर्वाचन आचारसंहिता र आमसञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहिता जागरण अभियान धादिङबाट सुरु गर्ने बैठकले निर्णय गरेको छ । पहिलोचरणमा सात प्रदेशका प्रमुख सहरमा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक कार्यक्रम सञ्चालन गर्ने तथा अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय भएको काउन्सिलले जनाएको छ ।
बोर्ड बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्न÷गराउन सम्बन्धित सबैमा अपिल गर्ने निर्णय गरेको छ । बैठकपश्चात् काउन्सिलले धादिङबेँसीमा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, शैक्षिक एवं सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीरूको सहभागितामा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Share Now