कोलम्बो श्रीलंका र कोलकोता(भारत) । लोकप्रिय खेल क्रिकेटको लोकप्रिय फर्म्याट टी २० को १० औं पुरुष विश्व कप आज भारत र श्रीलंकामा सुरु हुँदै छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(इन्टरनेशल क्रिकेट काउन्सिल, आईसीसी) आयोजनामा भारत र श्रीलंकामा १० औं विश्वकप आयोजना हुँदैछ ।
उद्घाटनका दिन ३ खेल
विश्वकपको पहिलो दिन आज ३ खेल हुनेछन्। पहिलो खेल कोलम्बोको एसएससी क्रिकेट मैदानमा पाकिस्तान र नेदरल्यान्ड्सबीच बिहान ११ः१५ बजे सुरु हुनेछ।
भारतमा २ खेल हुनेछन्। कोलकाताको इडेन गार्डेन्समा समूह ‘सी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा गर्दैछन्।
वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता टोली हो भने स्कटल्यान्ड अन्तिम समयमा विश्वकपमा प्रवेश गर्ने भाग्यमानी टोली हो। बंगलादेशले भारत भ्रमण नमानेपछि गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले वरियताका आधारमा स्कटल्यान्डलाई अवसर दिएको हो। यो खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ।
नेपाल पनि यही समूहमा छ । नेपाल रहेको समूहमा इंग्ल्याण्ड र इटाली पनि रहेका छन् ।
दिनको अन्तिम खेलमा घरेलु टोली भारतले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। मुम्बईको वानखेडे स्टेडियममा बेलुका ७ः१५ बजे भारत र अमेरिकाबीच हुनेछ । भारत आईसीसी टी २० विश्वकपको नवौं संस्करणको विजेता पनि हो ।
गत संस्करण जितेपछि तत्कालीन कप्तान रोहित शर्मा र विराट कोहली टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका थिए।
टी २० विश्वकपको अबको एक महिनासम्म चल्नेछ। साविक विजेता भारतसहित समान २ पटकका च्याम्पियन इङ्ल्यान्ड, वेस्ट इन्डिज तथा एक पटकका विजेता पाकिस्तान, श्रीलंकालगायत २० राष्ट्रले उपाधि जित्नका लागि भरमग्दूर प्रयास गर्नेछन्।
यसपटक विश्व कपमा कुल ५५ खेल आयोजना हुनेछन्। भारतका ५ शहरका तथा श्रीलंकाका २ शहरका ३ गरि ८ वटा क्रिकेट स्टेडियममा विश्वकपका खेल हुनेछन्।
भारतमा गुजरात अहमदाबादको नरेन्द्र मोदी स्टेडियम, कोलकाताको इडेन गार्डेन्स्, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नईको एम.ए. चिदम्बरम स्टेडियम विश्वकपका मुख्य स्थल हुन्।
यस्तै, श्रीलंकामा कोलम्बोस्थित आर.प्रेमादासा स्टेडियम, एसएससी क्रिकेट मैदान र क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा खेल हुनेछन्।
नेपालको पहिलो खेल भोलि
नेपालले भने आइतबार दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै टी २० विश्वकपको आफ्नो यात्रा सुरु गर्दैछ । नेपाल पहिलो पटक इङ्ल्यान्डसँग खेल्न लागेको हो।
नेपालले समूह चरणका आफ्ना सबै ४ खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका छ।
सन् २०१४ मा पहिलो पटक टी २० विश्वकप खेलेको नेपालको यो तेस्रो सहभागिता हो । अघिल्लो पटक अमेरिका र वेष्टएण्डिजमा भएको नवौं संस्करणको आईसीसी टी २० पुरुष विश्वकपमा पनि नेपालले प्रतिस्पर्धा गरेको थियो ।
अमेरिका र वेस्ट इण्डिजमा भएको पछिल्लो संस्करणमा नेपालले ३ खेल खेल्दा जित निकाल्न सकेन। दक्षिण अफ्रिकासँगको खेल नेपालले मात्र एक रनले गुमाएको थियो । दक्षिण अफ्रिकालाई पराजित गरेर भारत च्याम्पियन बनेको थियो।
नेपालले खेल्ने लिग चरणका ४ वटै प्रतियोगिताका टिकटहरु बिक्री भइसकेका छन् । यो पनि विश्व क्रिकेट जगतका लागि सुखद आश्चर्यको विषय भएको छ । छिमेकी देश भारतमा भएको विश्वकपमा नेपालको खेल प्रत्यक्ष हेर्न भारतमा रहेका नेपाली र नेपाली मूलका बासिन्दामात्र होइन, नेपालबाटै थुप्रै नेपाली जाँदैछन् ।
यस पटक विश्वकपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर ८ मा पुग्नेछन् । सुपर ८ का खेल फेब्रुअरी २२ मा सुरु हुनेछन्। सुपर ८ को प्रतिस्पर्धापछि शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
सेमिफाइनल पहिलो मार्च ४ र दोस्रो मार्च ५ मा हुनेछ । फाइनल मार्च ८ मा आयोजना हुने तालिका रहेको छ। पाकिस्तानको नतिजाका आधारमा फाइनल भारत वा श्रीलंकामा हुने तय हुनेछ । पाकिस्तान पुगेको अवस्थामा श्रीलंकामा र अन्य अवस्थामा भारतमा फाइनल हुनेछ।
भारतसँग फेब्रुअरी १५ हुने खेल समूह चरण खेल नखेल्ने घोषणा गरेको पाकिस्तानले अघिल्ला चरणमा भेट भएको अवस्थामा के गर्ने भन्ने निर्णय सार्वजनिक भएको छैन।


















