Prakash Adhikari February 7, 2026

 

  • अशोक दाहाल
    बीबीसी न्यूज नेपाली

काठमाडौं, २४ माघ । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिएका प्रमुख दलका तीन नेताहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह करिब दुई दर्जन जिल्लाहरू घुमिसक्नुभएको छ।

निर्वाचन आयोगले फागुन ४ गतेअघि चुनावी सभा र घरदैलोमा रोक लगाएका कारण अरू दलका नेताहरूले चुनावी कार्यक्रमको तयारी गरिरहँदा रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म घुमेर दोस्रो पटक आफ्नो चुनाव क्षेत्र झापा पुगिसक्नुभयो

प्रधानमन्त्रीका अर्का दाबेदार हुन् नेपाली कांग्रेसका सभापति गगन थापा। गत साता केही समय आफ्नो निर्वाचन क्षेत्रमा बिताएका थापाको अधिकांश समय काठमाडौंमै बितिरहेको छ। तीन पटक काठमाडौंबाट सांसदमा निर्वाचित थापाले यो पटक सर्लाहीबाट उम्मेदवारी दिएका छन्। पार्टीको नेतृत्वमा पुगेसँगै नयाँ निर्वाचन क्षेत्र रोजेका थापा शुक्रवार पार्टीको कार्यक्रममा पोखरा निस्कनुभयो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उहाँको दल नेकपा एमालेले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

गृहजिल्ला झापामा उम्मेदवारी दिएर काठमाडौंमै फर्किएयता ओली शुक्रवार दोस्रो पटक आफ्नो निर्वाचन क्षेत्रतर्फ ओली जानुभएको छ। यसबीचमा उहाँले काठमाडौंमै रहेका विभिन्न जिल्लाका पार्टी कार्यकर्तासँग भेटवार्ता गरेको एमाले नेताहरू ले बताउनुभएको छ ।

पार्टी जिम्मेवारी नहुँदा बालेनलाई सहज

हालै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका बालेन पार्टी कार्यालय जानुहुन्न । सभापति रवि लामिछानेले पार्टीका काम हेर्दा बालेनले देशभरि डुलेर आफ्नो र पार्टीको पक्षमा जनमत तयार गर्ने मौका पाएको रास्वपा नेताहरूले बताउनुभएको छ ।

रास्वपामा वरिष्ठ नेता बनेलगत्तै उहाँ जनकपुरको चुनावी सभामा पुग्नुभयो । प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि माघ ६ गते झापा पुगेका बालेन त्यहीँबाट पूर्वका अधिकांश जिल्ला घुमेर काठमाडौं फर्किनुभयो

त्यसबीचमा पश्चिमको यात्रामा निस्कनुभएका उहाँ सुदूरपश्चिम र कर्णाली घुमेर काठमाडौं आएलगत्तै पुनः आफ्नो निर्वाचन क्षेत्र पुग्नुभएको थियो। दोस्रो पटक निर्वाचन क्षेत्र पुगेर फर्कने क्रममा पनि बालेन उदयपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप र दोलखा हुँदै काठमाडौं फर्कँदै हुनुहुन्छ ।

बालेनको दौडाहामा आचारसंहिताले असर गर्दैन भन्ने जिज्ञासामा रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भन्नुभयो, ूआचारसंहिताकै कारण अहिले चुनावी सभाहरू नगरिएको हो।ू

झापामै खटिनुपर्ने बाध्यतामा ओली

आफ्नो परम्परागत चुनावी क्षेत्रमा प्रधानमन्त्रीका अर्का दाबेदारबाट चुनौतीको सामना गरिरहेका ओली यो पटक देशका धेरै ठाउँ जाने योजना नरहेको एमाले नेताहरूले बताउनुभएको छ ।

एमालेका कतिपय नेताहरूले सार्वजनिक कार्यक्रममा आफ्नो दलका अध्यक्षलाई झापामै अल्झाउने रणनीति लिएरै रास्वपाले बालेनलाई झापामा उम्मेदवारी दिन लगाएको तर्क गर्दै आएका छन्।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले फागुन पहिलो साताबाट एमालेले चुनावी सभाहरू गर्ने योजना भए पनि सातै प्रदेशमा ओली पुग्ने सम्भावना कम रहेको बताउनुभयो ।

ूफागुनको पहिलो हप्तापछि हामी अभियानमा जान्छौँ। यस पटक हामी धेरै ठाउँमा चाहिँ ठूलाठूला सभाहरू गर्दैनौँ, केही निश्चित ठाउँमा गर्ने हाम्रो योजना छ,ू उहाँले भन्नुभयो ।

ूसातै प्रदेशमा त सायद यस पटक हुँदैन कि जस्तो लाग्छ। समय छोटो छ।ू

एमाले उपाध्यक्ष थापाका अनुसार एमालेले यो पटकको चुनावी अभियान स्थानीय स्तरमै र डिजिटल माध्यममा केन्द्रित गर्ने योजना बनाएको छ। ूडिजिटल माध्यममा छ, हाम्रो प्रचार चलिरहेकै पनि छ। सबै माध्यमलाई प्रयोग गरेर प्रचार गरिरहेका छौँ,ू उहाँले भन्नुभयो ।

सातै प्रदेश जाने गगनको तयारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचन आचारसंहिताका कारण पार्टी सभापति थापा चुनावी प्रचारमा ननिस्किएको बताउनुभयो ।

ूहामीले यो महिनाको अन्त्यतिर घोषणापत्र सार्वजनिक गरेर त्यसपछि चुनावी सभाहरूको कार्यतालिका निकाल्दै छौँ,ू चालिसेले भन्नुभयो ।

कांग्रेसले चुनावअघि देशका सात वटै प्रदेशमा थापासहितका नेताहरूको उपस्थितिमा चुनावी सभा गर्ने तयारी गरिरहेको नेताहरूले बताएका छन्।

ून्यूनतम सातै प्रदेशमा भेला हुन्छ। त्योभन्दा बाहेक आवश्यक परेका ठाउँमा समयको उपलब्धता र यातायातका साधनहरूको सहजताका आधारमा सकेसम्म धेरै ठाउँमा पुग्ने योजना छ,ू उहाँले भन्नुभयो ।

ूआफ्नो निर्वाचन क्षेत्रमा पनि जानैपर्ला।ू

नयाँ निर्वाचन क्षेत्र भएका कारण आफ्नो क्षेत्रमा पनि पर्याप्त समय दिनुपर्ने दबावमा थापा रहेको कांग्रेस नेताहरू बताउँछन्।

ूएकचोटि जानुभयो। अन्यत्र घुमेर फेरि जानुपर्ने होला,ू चालिसे भन्नुहुन्छ।

यो पटक निर्वाचन आचारसंहिताले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र चुनावी प्रचारप्रसारका काम गर्न पाइने उल्लेख गरेको छ।

निर्वाचन आयोगले चुनावी खर्च कम गर्न भन्दै फागुन चार गतेबाट १८ गतेसम्म १५ दिन मात्रै चुनावी सभा र घरदैलोलगायतका प्रचारप्रसारका गतिविधि गर्न उम्मेदवार र दलहरूलाई समय दिएको छ।

रास्वपाले पनि रवि र बालेनसहितको चुनावी सभा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह दुवैको उपस्थितिमा सात वटै प्रदेशमा चुनावी सभा गर्ने तयारी गरिरहेको सहप्रवक्ता प्रतिभा रावलले बताउनुभयो ।

ूसभापतिको खुट्टामा चोटका कारण उहाँ वरिष्ठ नेताजसरी जान पाउनुभएन। अब फागुन पहिलो साताबाट दुवै नेताको सम्बोधन हुने गरी चुनावी सभाहरू हुन्छन्,ू रावलले भन्नुभयो ।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालले झापालगायत देशका प्रमुख सहरहरूमा लामिछाने र बालेनसहित पार्टीका दुवै जना उपसभापतिसमेत जाने गरी सभाको कार्यतालिका तयार गरिरहेको बताउनुभएको छ ।

अरू दल के गर्दै छन्

तीन जना पूर्व रधानमन्त्रीहरू रहेको नेपाली कम्युनिस्ट पार्टीले पनि चुनाव क्षेत्रकेन्द्रित सभाहरू गर्ने तयारी गरिरहेको नेता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

यो दलबाट दुई जना पूर्वप्रधानमन्त्रीहरू उम्मेदवार छन्। पार्टी संयोजक समेत रहेका पुष्पकमल दाहाल ुप्रचण्डु यो पटक नयाँ चुनावी क्षेत्रबाट उम्मेदवार बनेका छन्। पूर्वी रुकुमको आफ्नो चुनावी क्षेत्रमा केही समय बिताएर फर्किएका दाहाल शनिवार सिन्धुलीको पार्टी कार्यक्रममा जाने तयारीमा रहेको सापकोटाले बताउनुभयो।

ूआचारसंहिताका कारण अहिले हामीले बाहिरी गतिविधि खासै राखेका छैनौँ। हामीले सकेसम्म सातै प्रदेशमा र त्यसका अतिरिक्त केही विशेष क्षेत्रहरूमा पनि चुनावी सभाहरू गर्दै छौँ,ू सापकोटाले भन्नुभयो ।

यो पार्टीका अर्का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटबाट उम्मेदवार बन्नुभएको छ।

आफूलाई प्रधानमन्त्रीको दाबेदार भन्दै आएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि खास गरी पूर्वी पहाडी क्षेत्रमा सभाहरू गरेर अहिले धरानमा चुनावी प्रचारमा देखिनुभएको छ। उहाँ आफैँ सुनसरीबाट उम्मेदवार हुनुहुन्छ ।

केही समय आफ्नो चुनावी क्षेत्रमा केन्द्रित भएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ साताको अन्त्यतिर मधेश क्षेत्रमा चुनावी सभाहरूमा व्यस्त हुनुभएको छ ।

Share Now