Prakash Adhikari February 7, 2026

मुम्बई(भारत), २५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग पहिलो खेल खेल्दै आईसीसी टी २० पुरुष विश्वकपको तेस्रो यात्रा सुरु गर्दैछ ।

खेल भारतको मुम्बई शहरस्थित प्रसिद्ध वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो ३: १५ बजे सुरु हुनेछ ।

भारतमा चर्चित वानखेडे स्टेडियमको क्षमता १ लाख ३२ हजार दर्शक अट्ने रहेको छ। नेपालले खेल्ने विश्वकपको लिग चरणका खेलहरुको सम्पूर्ण टिकट बिक्री भइसकेका छन् ।

वानखेडे =मा चन्द्र सूर्य झण्डा अंकित टी सर्टले भरिभराउ दर्शकबीच नेपाली खेलाडीहरुले उच्चस्तरको प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

नेपालले समूह चरणका आफ्ना सबै ४ खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका छ। सन् २०१४ मा पहिलो पटक टि ट्वान्टी विश्वकप खेलको नेपालको यो तेस्रो सहभागिता हो भने लगातार दोस्रो हो ।

अमेरिका र वेस्ट इण्डिजमा भएको टी २० विश्वकपको नवौं संस्करणमा नेपालले ३ खेल खेल्दा जित निकाल्न नसकेपनि दक्षिण अफ्रिकासँगको खेल नेपालले १ रनले गुमाउँदै विश्व क्रिकेट जगतमा नेपाली टोलीको‌ चर्चा भएको थियो। पछि दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन बनेको थियो।

विश्वकप खेल्ने नेपाली टोलीमा अनुभवले खारिएका तथा यस पहिले दुई पटक खेलिसकेको सोमपाल कामी, अघिल्लो विश्वकपमा खेलेका आसिफ शेख, कुशल भुर्तेल, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी,सन्दीप जोरा,गुल्शन झा,करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् । नेपालले टोलीमा आरिफ शेखसहित पाँच खेलाडीलाई पहिलो पटक स्थान दिएको छ ।पहिलो पटक विश्वकप खेल्नेमा अलराउण्डर आरिफ शेख, शेर मल्ल, बसिर अहमद, लोकेश बम र नन्दन यादव छन् । शेर बाहेक अन्य खेलाडीले नेपालको सिनियर टोलीबाट खेलिसकेका छन् । शेर र बसिर बाहेक तीन खेलाडी अघिल्लो महिना नेपालले एसिया पूर्वी एशिया प्रशान्त क्षेत्र टी २० विश्वकप छनोटको उपाधि जित्दा टोलीका सदस्य थिए ।

इङ्ल्यान्डको टोली र नेपालसँगको भेट

इङ्ल्यान्डले नेपालसंग खेल्नका लागि कप्तान ह्यारी ब्रुकको नेतृत्वमा ११ सदस्यीय टिम सार्वजनिक गरिसकेको छ । इङ्गल्याण्ड एघार,⁠फिल साल्ट,जोस बटलर (विकेटकिपर),ज्याकब बेथेल,⁠टम ब्यान्टन, ⁠ह्यारी ब्रुक (कप्तान),साम कुरान,⁠विल ज्याक्स,⁠लियाम डसन,जोफ्रा आर्चर,⁠आदिल रशिद, ल्यूक वुड रहेका छन् ।

इङ्ल्यान्ड टी–२० विश्वकपको संयुक्त रूपमा सबैभन्दा सफल टोलीमध्ये एक हो। वेस्ट इन्डिज र हालको च्याम्पियन भारतसँगै इङ्ल्यान्डले दुई पटक उपाधि जितेको छ।

पहिलो पटक पउल कोलिङवुडको कप्तानीमा र दोस्रो पटक २०२२ मा जोस बटलरको नेतृत्वमा इङ्ल्यान्ड च्याम्पियन बनेको थियो।

नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो। त्यसपछि २०२४ मा वेस्ट इन्डिज–अमेरिका संयुक्त आयोजनामा दोस्रो सहभागिता जनायो। दुवै पटक नेपाल समूह चरणमै बाहिरिएको थियो।

नेपालविरुद्धको खेलअघि इङ्ल्यान्डलाई राहत मिलेको छ। ब्याट्सम्यान फिल साल्ट फिट घोषित भएका छन्। उनी जोस बटलरसँग ओपनिङ गर्नेछन्। श्रीलंकाविरुद्धको पछिल्लो खेलमा ढाड दुखाइका कारण बाहिरिएका साल्टले शुक्रबार प्रशिक्षण गरेका थिए।

भारतको वानखडे स्टेडियममा नेपालले इंग्ल्यान्ड, इटाली, बंगलादेश र वेष्टइण्डिजसँग समूह सी मा प्रतिस्पर्धा गर्नेछ । नेपालको पहिलो खेल आज छ भने दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसंग छ । तेस्रो खेल फेब्रुअरी १५ मा वेष्टइण्डिजसंग छ भने चौथो खेल स्कटल्याण्डसंग फेब्रुअरी १७ मा रहेको छ । नेपालका सबै खेलहरु मुम्बईस्थित वानखेडे रंगशालामा हुने भएका छन् ।

यस पटक विश्वकपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर एटमा पुग्नेछन् । सुपर एटका का खेल फेब्रुअरी २२ मा सुरु हुनेछन्। सुपर एटको प्रतिस्पर्धा पछि शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सेमिफाइनल पहिलो मार्च ४ र दोस्रो मार्च ५ मा हुनेछ । फाइनल मार्च ८ मा आयोजना हुने तालिका रहेको छ। पाकिस्तानको नतिजाका आधारमा फाइनल भारत वा श्रीलंकामा हुने तय हुनेछ । पाकिस्तान पुगेको अवस्थामा श्रीलंकामा र अन्य अवस्थामा भारतमा फाइनल हुनेछ।

 

Share Now