Prakash Adhikari February 8, 2026
दोधारा चाँदनी (कञ्चनपुर), २५ माघः महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र बेदकोट नगरपालिका विजयी भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा भीमदत्त नगरपालिकाले दोधारा चाँदनी नगरपालिकालाई ३३ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको भीमदत्तले १३ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर १०८ रन बनाउन सक्यो । भीमदत्तका लागि मिलन बोहराले ४२ रन र नरेन्द्र रानाले २५ रनको योगदान दिए । बलिङतर्फ दोधारा चाँदनीका लब्बी भट्टले ४ तथा जनक सुनार र कैलाश साउँदले समान दुई दुई विकेट लिए ।
एक सय ९ रनको लक्ष्य पाएको दोधारा चाँदनीले १३ ओभरमा सवै विकेट गुमाउँँदै ७५ रन मात्र जोड्न सक्यो । उसका लागि आकाश क्षेत्रीले १९ रन र मनोज चन्दले १५ रन बनाए । बलिङतर्फ भीमदत्तका पुकार चन्दले ४ तथा किरन चन्दले ३ विकेट लिए । उक्त खेलमा प्लेयर अफ दी म्याच भीमदत्तका पुकार चन्द घोषित भए ।
त्यसैगरि दोस्रो खेलमा पुनर्वास नगरपालिकालाई ९ विकेटले पराजित गर्दै बेदकोट नगरपालिका विजयी भयो । टस जितेर ब्याटिङ गरेको पुनर्वास नगरपालिकाले १२ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँँदै ७८ रन मात्र बनाउन सक्यो । उसका लागि प्रेम खत्रीले २२ रन र निशान्त खनियाले २१ रन बनाए । बलिङतर्फ बेदकोटका राजेश ऐर र लक्ष्मण खडायतले तीन तीन तथा विवेक बोहरा र निशान्त पातलीले दुई दुई विकेट लिए । उनासी रनको लक्ष्य बेदकोटले १२ दशमलव ४ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्यो । बेदकोटका लागि राजेश एरेले ४३ रन र दिपक बोहराले २४ रनको योगदान दिए । बलिङतर्फ पुनर्वासका मनिश थापाले एक विकेट लिए । उक्त खेलमा प्लेयर अफ दी म्याच बेदकोटका राजेश ऐर घोषित भए ।
पाँचाँै पालिका स्तरीय भीमदत्त मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा ६ टोली सहभागी छन् । प्रतियोगिताको विजेतालाई रु एक लाख ५५ हजार पाँच सय ५५ तथा उपविजेतालाई रु ७७ हजार ७७७ प्रदान गरिने छ ।
Share Now