नयाँदिल्ली भारत),२७ माघ। आईसीसी टी -२० पुरुष विश्वकप अन्तरगत आज भएको १० खेलमा नेदरल्याण्ड्सले नामिबियालाई पराजित गरेको छ ।
दिल्लीको अरुण जेट्ली क्रिकेट रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
खेलमा नामिबियाले दिएको १ सय ५७ रनको लक्ष्य नेदरल्याण्डले १८ औं ओभरका ३ विकेटको क्षतिमा १ सय ५९ रन जोडेर हासिल गर्यो ।
नेदरल्याण्ड्सका लागि बास डे लिडले अबिजित ७२ रन, कोलिन अक्करम्यानले ३२, माइकल लेभिटले २८, स्कट एड्वार्डले अविजित १८ र म्याक्स ओ डाउदले ७ रनको योगदान गरे ।
नेदरल्याण्ड्सलाई रोक्ने क्रममा नामिबियाका लागि बर्नाड चोल्ट, रुवेल ट्रम्पल मेन र जोन निकोल लफ्टि इटनले एक एक विकेट लिए ।
यस अगाडि भारतको राजधानी नयाँदिल्लीस्थित अरुण जेट्ली अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिड.को निम्तो पाएको नामिबियाले २० ओभरको निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो ।
नामिबियाका लागि जन निकोल लफ्टि एटोनले ४२, जन फ्राईलिंकले ३०, जेजे स्मिथले २२,क्याप्टेन गेहार्ड इरास्मसले १८, जाने ग्रीन र रुवेन ट्रम्पलमेनले ९।९, लौरेन स्टिनक्याम्प र दिलान लिइचरले ६ । ६ र विलियम माईवर्गले ४ रनको योगदान दिए ।
नामिबियालाई रोक्ने क्रममा नेदरल्याण्ड्सका लगन भान विक र वास डे लिगले २ । २ तथा आर्यन दत्त र फेड क्लासेनले एक एक विकेट लिए ।
यो १० औं खेलको नतिजासहित समूह ‘ए’ मा दुई खेल खेलेको नेदरल्यान्ड्स एक जित र एक हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। रन रेटका आधारमा पाकिस्तान तेस्रो स्थानमा छ भने भारत समूहको शीर्ष स्थानमा रहेको छ।


















