Prakash Adhikari February 11, 2026

काठमाडौं, २८ माघ। थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।

मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल क्रिकेट संघ(क्यान)ले टोलीलाई बिदाइ गरेको हो।

कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यस पटक टिमको कप्तानी पूजा महतोलाई दिइएको हो। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्यालिफायरअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा इन्दु घाइते भएकी थिइन्।

यस अघि उपकप्तान रहेकी पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा गरिएको छ। नेपाली टोलीमा बिन्दु रावल,सम्झना खड्का, रुवी पोद्दार, रुविना क्षेत्री,कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, रोमा थापा,सुमन विष्ट, अनु कडायत,मनिषा उपाध्याय, काजल श्रेष्ठ,सीमाना केसी रहेका छन् ।

पूजाले पहिलोपटक सिनियर टोलीको कप्तानी गर्न लागेकी हुन्। उनले यु १९ टोलीको कप्तानी भने सम्हालिसकेकी छन् ।

फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ’ए’ सँग खेल्नेछ।

पूजाले सन् २०२३ को अगस्टमा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् ।

नेपाल थाइल्यान्डमा हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको समूह समूह ‘ए’ मा परेको छ । यो समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन् । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।

फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नेछ भने सोही दिन भारत ‘ए’ र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।

नेपालले दोस्रो खेल १५ फेब्रुअरीमा यूएई अनि तेस्रो खेल १७ फेब्रुअरीमा भारत ‘ए’ सँग खेल्नेछ ।

 

राइजिङ स्टार्स महिला एसिया कपको समूह र खेलतालिका सार्वजनिक

Share Now