Prakash Adhikari February 11, 2026

काठमाडौं, २८ माघ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगम लिमिटेडको ४४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभाले सञ्चालक समितिद्धारा पारित गरी प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१ ८२ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र आगामी बर्षको नीति,कार्यक्रम र बजेट पनि पारित गरेको छ ।

साधारण सभाले निगमले १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय तथा लेखा परीक्षण प्रतिवेदन पनि विवरण पारित गरेको छ।

उपभोक्तालाई राहत दिने नाममा लामो समयदेखि घाटा सहदै आएको निगम वर्तमान कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टको अग्रसरतामा  स्वचालित मूल्य प्रणाली लागु गरेसंगै नाफामा जान थालेको हो । डिजल,मट्टितेल र पेट्रोलमा स्वचालित मूल्य प्रणाली कायम गर्न निगम सफल भए पनि आम नागरिकले उपयोग गर्ने खानापकाउने एलपीजी ग्याँसमा स्वचालित मूल्य प्रणाली अबलम्बन गर्न कठिनाइको सामना गरिरहेको छ । अन्य पेट्रोलियम प्रडक्टमा भएको नाफाबाट उपभोक्ताहरुलाई निगमले सहुलियत दरमा ग्यास उपलब्ध गराइरहेको छ ।

आम उपभोक्ताको हितलाई ध्यान दिंंदै आएको निगमको साधारण सभाले सञ्चालक समितिको प्रस्तावअनुसार चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त लाभांशअन्तर्गत नेपाल सरकारले मात्रै करिब १ अर्ब रुपैयाँभन्दा बढी लाभांश प्राप्त गर्ने भएको छ।

निगमको वित्तीय प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको नाफासमेत जोड्दा निगमको संचित नाफा १७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। निगमको साधारण सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत पारित गरेको छ।

निगमको वार्षिक साधारण सभामा बोल्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा निगम र निगमको वार्षिक सभाका अध्यक्ष डा. रामप्रसाद घिमिरेले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उतार–चढाव र विदेशी विनिमय दरको चुनौतीका बाबजुद निगमले वित्तीय अनुशासन, आपूर्ति व्यवस्थापन तथा भण्डारण पूर्वाधार विस्तारमा उल्लेखनीय प्रगति गरेको बताउनुभएको थियो। उहाँले निगम व्यवस्थापनलाई समय सापेक्ष व्यापार विविधिकरण र जाशक्ति व्यवस्थापनमा ध्यान पुर्याउन मार्गदर्शन समेत गराउनु भएको थियो ।

निगमले आगामी दिनमा आपूर्ति प्रणाली थप सुदृढ बनाउँदै उपभोक्तालाई सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Share Now