Prakash Adhikari February 13, 2026

ललितपुर, २ फागुन । ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ मा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो।

दुर्घटनामा ट्रक चालक र एक जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भयो।

दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, ट्रकमा सवार अन्य दुई जना अन्दाजी ४० वर्षीय र ५० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । अस्पताल पुर्‍याउनासाथ डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका थिए । अस्पतालमा ज्यान गुमाउने दुई जनाको सनाखत हुन बाँकी रहेको छ।

Share Now