Prakash Adhikari February 13, 2026

काठमाडौ, २ फागुन। नेपाल हक्की संघको वार्षिक कार्यक्रम अनुसार आगामी फागुन ४ गतेदेखि ११ गतेसम्म “राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता” आयोजना हुने भएको छ।

प्रतियोगिताबारे शुक्रबार संघको तर्फबाट पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ।

नेपाली हक्कीको इतिहासमा पहिलोपटक राष्ट्रियस्तरको पुरुष र महिला हक्की प्रतियोगिता दशरथ रङ्गशालामा हुन लागेको संघले बताएको छ ।

पुरुषतर्फ ६ टिम र महिलातर्फ ५ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबको सहभागीता रहनेछ। पुरुष प्रतियोगिता दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ।

महिलातर्फ कोशी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश, सुदुरपश्चिम र बागमती प्रदेशको टिम राउन्ड रोविन लिग आधारमा प्रतिस्पर्धा गर्नेछन्।

पुरुष र महिला दुवैमा शीर्ष तीन स्थान हासिल गर्ने टिमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिईन्।

विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिनेछ। संघले प्रतियोगिता सञ्चालनमा करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

नेपाल हक्की संघले आफ्नो कार्यकालमा वार्षिक क्यालेन्डर तयार गरी कार्यक्रमहरू नियमित सञ्चालन गर्दै आएको र पूर्वाधार निर्माणका लागि धुलिखेलमा जग्गा प्राप्त भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

‘डिपीआर तयार भइसकेको तथा हाल ईआइइ काम अघि बढिरहेको छ ।’ महासचिव श्रेष्ठले भनिन् ।

Share Now