ढाका(बंगलादेश), ५ फागुन(बीबीसी) । गत साता भएको आम चुनावपछि मङ्गलवार नयाँ सरकारले काम थाल्नुअघि बाङ्ग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले राजीनामा दिनुभएको छ।
मङ्गलवार ढाकामा १३औँ राष्ट्रिय संसद्का निर्वाचित सदस्यहरू र नयाँ सरकारको शपथ ग्रहण समारोहको अन्तिम तयारी भइरहँदा उहाँको राजीनामा आएको हो
आफ्नो बिदाइ कार्यक्रममा उहाँले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र मौलिक अधिकारलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
८५ वर्षीय युनुसले सन् २०२४ मा भागेर भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अधिनायकवादी सरकारलाई अपदस्थ गरेको विरोध प्रदर्शनपछि पदभार ग्रहण गर्नुभएको थियो।
हसिनाको अवामी लीगलाई गत हप्ताको चुनावमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो।
उक्त चुनावमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी)ले बहुमत ल्यायो र त्यसका नेता तारिक रहमान भारी मतले विजयी हुनुभयो।
बीएनपीले पार्टी अध्यक्ष तारिक रहमानले प्रधानमन्त्रीको रूपमा शपथ लिने बताएको छ।
मङ्गलवार केके हुँदै छ ?
गृह मन्त्रालयले नयाँ नियुक्त हुने प्रधानमन्त्रीको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न प्रहरीलाई निर्देशन दिएको छ।
संसद् भवनमा मङ्गलवार बिहान १० बजे संसद् सदस्यहरूको शपथ ग्रहण समारोह र अपराह्न ४ बजे प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह तय गरिएको छ।
चुनावमा दुई स्थानबाट जित हासिल गरेका बीएनपी अध्यक्ष तारिक रहमानले एउटा स्थान त्यागेर ढाका १७ सिटको सांसद् हुनेगरी शपथ लिनुहुने छ।
बीएनपीले सांसदहरूको शपथ ग्रहण समारोहपछि संसदीय दलको बैठक बोलाएको छ। उक्त संसदीय दलको बैठकले सदनमा आफ्नो नेता चयन गर्ने नेताहरूले बताएका छन्।
सोमवार बाङ्ग्लादेश जमात-ए-इस्लामी सहितको ११ दलीय गठबन्धनले ढाकामा विरोध मार्च र र्याली निकालेको थियो।
उनीहरूले चुनावपछि देशभर हिंसा, यातना, उत्पीडन, हत्या र बलात्कार भएको आरोप लगाएका छन्।
युनुसले थप के भने ?
अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले आफ्नो बिदाइ सम्बोधनका क्रममा बाङ्ग्लादेशमा १७ वर्षपछि उत्सवपूर्ण, शान्तिपूर्ण राष्ट्रिय निर्वाचन सम्पन्न भएको उल्लेख गर्नुभयो।
“यो निर्वाचन भविष्यमा बाङ्ग्लादेशको चुनाव कस्तो हुनुपर्छ भन्ने कुराको उत्कृष्ट उदाहरण हुने छ”, युनुसले भन्नुभयो।
“यो चुनाव केवल सत्ता हस्तान्तरणको प्रक्रिया मात्र होइन, यो बाङ्ग्लादेशको लोकतान्त्रिक प्रणालीमा नयाँ यात्राको सुरुवात हो। नयाँ बाङ्ग्लादेशको जन्म हो”, युनुसले भन्नुभयो ।


















