Prakash Adhikari February 17, 2026

ढाका(बाङ्ग्लादेश), ५ फागुन(बीबीसी) । बाङ्ग्लादेशमा आन्दोलनबाट लामो समयदेखि सत्तामा रहेकी शेख हसिनाको सरकार अपदस्थ भएको १८ महिनापछि भएको निर्वाचनमा विजयी तारिक रहमानले नयाँ प्रधानमन्त्रीको शपथ लिनुभएको छ।

उक्त निर्वाचनमा रहमान नेतृत्वको मध्यदक्षिणपन्थी दल बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी)ले बहुमत जितेको थियो।

सोमवार ढाकामा भएको समारोहमा नयाँ मन्त्रिमण्डलका सदस्यहरूले पनि शपथ लिएका छन्।

बहुमतपछि गठित सरकार

यसअघि बाङ्ग्लादेशमा फेब्रुअरी १२ मा भएको आमनिर्वाचनमा विजयी भएका नयाँ सांसदहरूले आआफ्नो पद तथा गोपनीयताको शपथ लिएका थिए।

उक्त चुनावमा बीएनपी गठबन्धनले २१२ सीटसहित दुईतिहाइ बहुमत हासिल गरेको थियो।

जमात-ए-इस्लामी गठबन्धनले केवल ७७ सिट जितेको थियो।

नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका तारिक रहमान पहिलो पटक औपचारिक रूपमा पार्टीको नेतृत्वमा आउनुभएको हो र उहाँले ले चुनाव पनि पहिलो पटक लड्नुभएको हो।

बीएनपीमा बितेको चार दशकसम्म उहाँकी आमा खालिदा जिया पार्टी अध्यक्ष हुनुहून्थ्यो। डेढ महिनाअघि आमाको मृत्यु भएको थियो।

बाङ्ग्लादेशको स्वतन्त्रता सङ्ग्रामका प्रमुख नेता तथा तारिकका पिता जियाउर रहमानको हत्या भएपछि खालिदाले पार्टीको नेतृत्व सम्हाल्नुभयो। खालिदा बाङ्ग्लादेशकी पहिलो महिला प्रधानमन्त्री समेत बन्नुभयो ।

नयाँ सरकारका सामु अर्थतन्त्रलाई उकास्ने तथा शेख हसिना र उनको दल अवामी लीगको १५ वर्षे कार्यकालमा भएको भनिएको निरङ्कुश शासनपश्चात् प्रजातन्त्र पुनर्स्थापित गर्ने चुनौती रहेका छन्।

शपथग्रहण समारोहमा नेपालसहित भारत, पाकिस्तान तथा अन्य दक्षिण एशियाली देशका नेताहरू उपस्थित थिए।

नेपालका तर्फबाट शपथग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आइतवार नै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

युनुसको विवादित बिदाइ भाषण

यसैबीच सन् २०२४को अगस्ट आन्दोलनपश्चात् गठन भएको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले सोमवार नै राजीनामा दिनुभएको थियो ।

चुनाव सञ्चालन गराएर सरकारबाट बाहिरिँदै गर्दा युनुसले पुनः एकपटक छिमेकी भारतलाई असहज गराउने टिप्पणी गर्नुभयो ।

आफ्नो बिदाइ भाषणमा उहाँले भन्नुभयो,”हाम्रो खुला समुद्र केवल बाङ्ग्लादेशको भौगोलिक सिमाना होइन, बरु विश्व अर्थव्यवस्थासँग सम्पर्क गर्नाका लागि खुला ढोका पनि हो। यो क्षेत्रमा रहेका नेपाल, भुटान तथा सेभन सिस्टर्ससँग बलियो आर्थिक सामर्थ्य छ।”

पूर्वोत्तर भारतका सात राज्यहरू असम, मेघालय, त्रिपुरा, अरुणाचल, मिजोरम, नागाल्यान्ड र मणिपुरलाई सेभन सिस्टर्स भनेर चिनिन्छ। तर युनुसले आफ्नो टिप्पणीमा भारतको नाम नै नलीकन सेभन सिस्टर्स भन्नुभएको थियो ।

त्यसरी स्वतन्त्र हिसाबबाट सेभन सिस्टर्सको नाम लिनुको मतलब मोहम्मद युनुसले ती राज्यको राष्ट्रियता अलग रूपमा हेरेका हुन् कि भन्ने भारतमा कतिपयले अर्थ निकालेका छन्। विगतमा पनि युनुसले सेभन सिस्टर्सको नाम लिएर भारतलाई चिढ्याउनुभएको थियो।

गत वर्ष चीन भ्रमणका बेला उनले सेभन सिस्टर्सको समुद्रसँग सिमाना नजोडिएको भन्दै बाङ्ग्लादेशलाई तिनको अभिभावक भन्नुभएको थियो।

Share Now