Prakash Adhikari February 18, 2026

जनकपुरधाम(धनुषा), ६ फागुन । आज नेपाली कांग्रेसले तराइको प्रसिद्ध ऐतिहासिक एवम् धार्मिक नगरी जनकपुरमा आफ्नो शक्ति प्रदर्शन गर्दै छ । नेपालमा लोकतन्त्रको स्थापना र पुनस्थापनामा अग्रणी भूमिका खेलेको तराई अर्थात हालको मधेश प्रदेश लोकतन्त्रप्रतिको आस्थाबाट विचलित छैन भन्ने प्रमाणित गरेर सिंगो नेपाललाई कांग्रेसको पक्षमा जनमत रहेको देखाउन आजको सभा महत्वपूर्ण हुने कांग्रेसले विश्वास लिएको छ ।

नेपाली कांग्रेसले जनकपुरको आजको सभाबाटै यो चुनावको गर्ने भएको छ । कांग्रेसले चुनावको लागि तयार पारिएको प्रतिज्ञा पत्र निर्वाचन आयोगलाई भने पहिल्यै बुझाइसकेको छ ।

कांग्रेसको चुनावी सभा आयोजक समितिले आजको “प्रतिज्ञा सभा” मा एक लाख मानिस उपस्थित गराउने तयारी भएको दावी गरेको छ ।

आजको चुनावी सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेशको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा लिएको नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादबले जानकारी दिनुभएको छ।

‘नेपाली कांग्रेस र मधेशको सम्बन्ध इतिहासकै गहिरो धरातलमा उभिएको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन हुँदै २०६२र०६३ को ऐतिहासिक जनआन्दोलनसम्म मधेशका वीर सपूतहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । मधेशको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको छ । यो अवसरमा मधेशपुत्र दुर्गानन्द झा, नारायण मिश्र, महेन्द्रनारायण निधी लगायतका नेताहरुलाई स्मरण गर्न चाहान्छु ।’ प्रदेश सभापति यादवले एक बिज्ञप्ति मार्फत भन्नुभएको छ ।

उहाँले मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात गरेको र मधेशको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका लागि कांग्रेस सधैं प्रतिबद्ध रहँदै आएको समेत उल्लेख गर्नुभएको छ।

यादवले जारी गरेको बिज्ञप्तिमा कांग्रेसका सभापति गगनकुमार थापा स्वयं मधेशसँग भावनात्मक र राजनीतिक रूपमा गहिरो सम्बन्ध राख्ने व्यक्तित्वको रुपमा लिंदै मधेशको जिल्ला सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेशको जनतासँग प्रत्यक्ष जोडिएको समेत उल्लेख छ ।’ यो केवल चुनावी रणनीति मात्र नभई मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो । मधेशको विकास र सम्मानबिना राष्ट्रिय समृद्धि सम्भव छैन भन्ने विश्वासका साथ उहाँले मधेशको भूमिबाट प्रतिनिधित्व गर्न रोज्नुभएको हो ।’ यादवले भन्नुभएको छ ।

‘आज मधेश केवल भौगोलिक क्षेत्र मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, कृषि उत्पादन, सांस्कृतिक विविधता र सामाजिक समावेशिताको आधारस्तम्भ हो। तर विगतका वर्षहरूमा मधेशले अपेक्षित विकास र राज्यको पर्याप्त ध्यान पाउन सकेको छैन। यही यथार्थलाई आत्मसात गर्दै नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रको रूपमा सार्वजनिक गर्न गइरहेको “प्रतिज्ञा पत्र” मधेशबाटै प्रारम्भ गर्ने निर्णय गरेको हो ।’ सभापति यादवले मधेशबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्नुको अर्थ मधेशलाई केवल चुनावी भूगोलका रूपमा नहेरी परिवर्तनको प्रारम्भ बिन्दुका रूपमा हेर्नु र मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अगाडि बढ्ने भन्ने नै हो भन्नुभएको छ ।

प्रतिज्ञा सभा केवल नेताहरूको सम्बोधन सुन्ने कार्यक्रम होइन, बरु जनताको आवाज सुन्ने, जनतासँग प्रतिवद्धता व्यक्त गर्ने र भावी यात्राको खाका प्रस्तुत गर्ने साझा मञ्च हो भन्दै उहाँले मधेशको गौरव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्ने दिशामा यो कार्यक्रम कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

Share Now