- प्रदीप बस्याल
बीबीसी न्यूज नेपाली
काठमाडौं, ६ फागुन । अमेरिका पुर्याइदिने भन्दै कैयौँ व्यक्तिसँग ठूलो परिमाणमा रकम असुलेको आरोप लागेका दुई जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेपछि मानवतस्करीको एउटा भयावह चित्र सार्वजनिक भएको छ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख कृष्णप्रसाद पगेनीका अनुसार अमेरिका जान चाहने व्यक्तिले ५० लाखदेखि एक करोड रुपैयाँसम्म खर्चने गरेको पाइएको छ। साथै सन्दिग्ध मानवतस्करहरूको सहयोगमा अमेरिका पुगेका केही व्यक्ति जेल परेर फर्किएको पनि पाइएको छ।
‘लगभग २ सय ५० जनालाई अवैध बाटोबाट अमेरिका लैजाने सो गिरोहको सहयोगमा कोही गन्तव्यसम्म पुगेका थिए भने कोही पुगेका थिएनन्, उहाँले बीबीसीलाई बताउनुभयो। ‘उहाँहरूको खातामा पछिल्ला पाँच(सात वर्षको अन्तरालमा करोडौँ रुपैयाँ जम्मा भएको पाइयो। त्यसबाहेक मोटो रकम अन्य विभिन्न स्वरूपमा सम्पत्ति शुद्धीकरण गरेको पाइयो।’
प्रहरीले छ महिनाभन्दा बढी समय अनुसन्धान गरेर रुकुम पश्चिमका कलबहादुर बस्नेत र रुकुम पूर्वका अमित बस्नेतविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ। प्रहरीका अनुसार कलबहादुर बस्नेत हिरासतमा छन् भने अमित बस्नेत फरार छन्।
प्रतिवादीले ‘अमेरिका पठाएबापत रकम जम्मा भएको’ स्वीकार गरेको प्रहरीले जनाएको छ। ‘अन्य कुनै स्रोत देखिँदैन’, प्रहरी वरिष्ठ उपरीक्षक पगेनीले भन्नुभयो।
उनीहरूले एकै पटकमा नभईकन ठूलो रकमलाई किस्ता किस्तामा ब्याङ्कमै जम्मा गर्ने र खर्च गर्ने गरेको देखिएको प्रहरीको भनाइ छ।
ब्यूरोका अनुसार कलबहादुर बस्नेतले ७० करोड रुपैयाँ एवम् अमित बस्नेतले २७ करोड ४५ लाख २९ हजार रुपैयाँ विभिन्न तरिकाले शुद्धीकरण गरिएको अवस्थामा विभिन्न ब्याङ्कमा पाइएको थियो।
यसरी ९८ करोड रुपैयाँभन्दा बढी रकम बिगो कायम गरी मानवतस्करी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ।
अन्तर्राष्ट्रिय चासोको मुद्दा
सम्पत्ति शुद्धीकरणका विषयलाई लिएर नेपाल अन्तर्राष्ट्रिय समुदायको सूक्ष्म निगरानीको सूची ‘ग्रे लिस्ट’मा रहेकै अवस्थामा यस मुद्दालाई देशबाहिरबाट समेत चासोपूर्वक हेरिने प्रहरी अधिकारीहरू बताउँछन्।
‘त्यसै पनि मानवतस्करी उच्च जोखिमयुक्त कसुर हो। हामीले यसलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्नुपर्छ’, ब्यूरो प्रमुख पगेनीले भन्नुभयो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता सङ्गठन वित्तीय कारबाही कार्यदल वा फाइनान्शल एक्शन टास्कफोर्स (एफएटीएफ)ले त्यस्ता मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने भन्ने गरेकाले यस मुद्दालाई ‘गम्भीर’ मानेर सुनुवाइ हुनुपर्ने मान्यता रहेको प्रहरी अधिकारीहरू बताउँछन्।
अमेरिकामा गत वर्ष डोनल्ड ट्रम्पले सत्ता सम्हालेयता आप्रवासीहरूविरुद्ध लक्षित कडा नीतिका कारण ५ सय जनाभन्दा बढी नेपालीहरू डिपोर्ट गरेर नेपाल फर्काइएको प्रहरीले जनाएको छ। तीमध्ये अधिकांश अवैध बाटो अमेरिका पुगेका व्यक्ति छन्।
त्यसअघि पनि नेपालीहरू अमेरिकाबाट निष्काशनमा पर्ने गरेका भए पनि त्यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाउँछ।
ट्रम्प सत्तामा फर्किएपछि उनको नीतिका कारण ‘अवैध बाटोबाट जाने प्रयासमा कमी आएको’ प्रहरी वरिष्ठ उपरीक्षक पगेनी बताउनुहुन्छ।
‘अहिले एक त पुग्नै गाह्रो छ, अर्को पुगिहाले पनि पहिले पहिले जसरी अवैध रूपमा रहेर काम गर्न गाह्रो छ’, पगेनी भन्छन्। ‘हुँदै नभएको त भन्न सकिन्न तर ब्यूरोमा दुई चार महिनायता अमेरिका जाने क्रममा फसेँ भन्ने उजुरी परेको अवस्था छैन।’
कठिन यात्रा
तस्करको सहयोग लिएर अवैध बाटोबाट अमेरिका जाने क्रममा समुद्रमा डुङ्गा पल्टिएर अनि राम्ररी खानबस्न नसकी अलपत्र पर्दा मृत्यु हुने गरेका घटनाहरू पनि उल्लेख्य रहेको प्रहरीले जनाएको छ।
पगेनीका अनुसार तस्करहरूले पहिला दुबई र ब्रजिल पठाउने र त्यसपछि दक्षिण अमेरिका छिरेपछि मेक्सिको पुग्ने एउटा साझा बाटो प्रयोग गराउने गरेको पाइएको छ।
अमेरिका पुग्न खोज्नेहरूले दक्षिण र मध्य अमेरिकाबीचमा ‘डेरिअन ग्याप’ भन्ने करिब १०० किलोमिटरको साँघुरो बर्खे जङ्गलको बाटो समात्ने गरेको ठानिएको छ।
‘दुई-तीन महिनादेखि एक वर्ष लामो यात्रा गरेर पनि पुगेको देखिएको छ भने कोही एक पटकमा असफल हुँदा पुनस् दोहोर्याएर प्रयास गरेको समेत पाइएको छ’, पगेनीले भन्नुभयो ।
आफन्त एवम् इष्टमित्रमार्फत् त्यस्तो गिरोहसँग जोडिने प्रवृत्ति धेरै पाइने गरेको र त्यसरी जाँदा कसैकसैले राम्रो गरेको उदाहरणलाई धेरै देखाएर आकर्षित गर्ने गरिएको शैली धेरै देखिएको ब्यूरो प्रमुख पगेनी बताउँछन्।
‘त्यही लोभमा जान्छन् र मानिसहरू फस्छन्।’
हाल ब्यूरोले दुई दर्जनभन्दा बढी सङ्ख्यामा मानवतस्करीका त्यस्ता मुद्दा दर्ता गरेको अवस्था छ।


















