Prakash Adhikari February 18, 2026
काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधवार साँझ दिनुभएको भिडियो सन्देशमार्फत उहाँले सो आग्रह गर्नुभएको हो ।
उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याउनुभएको छ ।
पूर्वराजा शाहले भन्नुभएको छ, “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।”
एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड  छ ।
पूर्वराजा शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उहाँको भिडियो सन्देशको पूर्णपाठ यसप्रकार छः
नेपाली दिदी बहिनी तथा दाजु भाइहरू !
 जनता र राजा को संयुक्त प्रयत्न बाट ७५ वर्षअघि नेपालमा प्रजातन्त्रको मिर्मिरे घाम उदयको शुखद् दिवस को सम्झना गर्र्दै हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्द छौँ
प्रजातन्त्र स्थापनाको निम्ति उदारता दर्शाइबक्सिने हाम्रो जिजुबुबाज्यू राष्ट्रपिता श्री ५त्रिभुवनको संझना गर्दै मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौ । प्रजातन्त्रका  निम्ति जीवनदान दिने ज्ञातअज्ञात शहिदहरु र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरु प्रति पनि हामी श्रद्धाभाव व्यक्त गर्दछौँ ।
 केहि महिनाको झापा बसाई पश्चात् राजधानी फर्किने क्रममा हाम्रो स्वागतमा सामेल हुनुहुने उपत्यकाका आदिबासी, नागरिक एवं आम जनुसमुदायमा हार्दिक आभार सहित धन्यवाद अर्पण गर्दछौँ ।
मुलुक असामान्य अवस्था बाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्शाइएको यस्तो प्रेम र सद्भावले हाम्रा मन र मुटु मात्र छोएको नभइ हाम्रा निम्ति एउटा अर्को दायित्वबोधको प्रेरणा पनि मिलेको छ ।
 सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटीको भूमरीमा फसेको छ ।  देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन् । विगतमा अनेकौै नाममा आन्दोलन र संघर्ष भए ।  संघर्षको आडमा परिवर्तन पनि गरिए । तर सबै प्रकारका परिवर्तनहरुले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मा समिक्षा गर्नुपर्ने समय अहिले आएको छ ।
हाम्रो शत्रु विपन्नता र अस्थिरता हो । तर एउटा नेपालीको अर्को नेपालीलाई बैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढ्वा दियौं । जसका कारण देश आज इतिहासको सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ । त्यसैले कठिन परिस्थितिमा परेको आजको मुलुक मा परस्पर घृणा र द्वन्दको राजनीतिमा पूर्णबिराम लगाँउदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबद्र्धन गरौं । प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यता अनुरुप चल्नु उपयुक्त हो प्रजातान्त्रिक प्रणालिमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भएता पनि यति खेरको आम जनभावना यो छ  कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचन पछि कुनै द्वन्द, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्रा निर्वाचनमा  जाँदा नै यसले सही बाटो समात्ने थियो ।
 वर्तमान अवस्थामा अधिकारमात्र खोज्ने कतव्य नसोच्ने प्रवृति मौलाई रहेको यस्तो दुखःद परिस्सथतिमा आलोपालो भोग लागएर  खाऊँ भन्ने सोचले होईना, मिलेर काम गरौं भन्ने कर्तव्य बोधले मात्र मुलुकलाई नया गति दिन सकिन्छ।
प्रजातन्त्रमा जनता आफै जागरुक बनेर समाज र राष्ट सेवाको सत्कर्ममा  अग्रसर हुनुपाउनु पर्ने हो । तर कसैलाई खुशी पार्नुपर्ने, अनि कसैबाट तोकिनु पर्ने बाध्यात्मक व्यवस्थाको जञ्जिरमा बाधिनु परेको छ।
देशको भूबनोट तथा समाज को प्रकृति  सुहाउदो व्यवस्था र प्रणालीले मात्र दीगो र सकरात्मक परिणाम दिन सक्छ। आम जनताको समग्र हित हुने तथा विश्वसामु नेपालीको उच्च शीर हुने व्यवस्था नै प्रजातान्त्रि व्यवस्था नेपाललाई सुहाउछ ।
 कुनै व्यवस्थाको राम्रा और असल पक्षहरु टिप्नु  र राख्नु पर्छ। जुनै व्यवस्थाको नराम्रो और खराब पक्षहरु हुन्छन त्यसलाई फाल्नु र फ्याकनु पर्छ। त्यसैले विश्वका कैंयौ राष्ट्रहरु अहिले आफ्नो देश,पहिला आफ्ना जनता र पहिला आफ्ना आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बसाइरहेका छन् । हो, हामीले पनि हाम्रो धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परिक्षण र प्रशोधन गर्दै जानुपर्छ ।
नेपाको एकीकरण, प्रजातान्त्रिकरण र आधुनिकीकरण संगै जनताको बदलिदो चाहना और आवश्यकतालाई ध्यानमा राखेर समानुकूल परिवर्तन और परिमार्जन गर्दै आम जनताको दैनिक कामकाज, सहज र सरल बनाउदै जानुपर्ने आजको आवश्यकता हो । प्रजातन्त्रमा सबैथरि विचार, सबैथरी संस्कारको आधार हुनुपर्दछ । सबैले सबैलाई कदर गर्ने, समन्वयकारी गुणबाट नै सामाजिक मूल्यको प्रजातन्त्र दिगो र दरिलो हुन्छ । अरुको भरमा परेर हामी अक्करमा नपरौै । श्री पशुपतिनाथले हमी सबैको कल्याण गरुन । जय नेपाल ।
Share Now