चन्द्रपुर (रौतहट), ९ फागुनः जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम गौरमा आज अपराह्न १ः०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
गौर नगरपालिका–६ सवगढा गाउँमा आज बिहान दुई पक्षबीच पुनःझडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रसम्म कर्फ्यु आदेश जारी भएको हो ।
घटनापछि शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको हो ।
प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताउनुभएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गरिरहेको छ । गौरको वडा नम्बर ४, ५ र ६ मा झडप भइरहेको छ ।
कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
झडपका क्रममा प्रदर्शनकारीहरुले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएको तथा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
अवस्था बिग्रन नदिन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको छ।
तीन दिनअघि जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । अहिले मुस्लिम समुदायका रमदान चलिरहेको छ । रमदानमा ब्रतबसेकाहरुलाई डिस्टर्ब भएको भन्दै विवाद उत्पन्न भएको थियो ।
दुई समूहको बिचमा झडप हुँदा गौरमा ३ वटा गाडी र दुईवटा मोटरसाइकलमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले बताउनुभयो। उहाँले भन्नुभयो, ुशुक्रवार पनि झडप भएको थियो ।ु
गौर नगरपालिका(६ स्थित सवगडा गाउँका दुई समूहबिच दुई दिनदेखि लगातार झडप भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आक्रोशित समूहले गौर स्थित एउटा पेट्रोल पम्पमा पनि तोडफोड गरेका छन् ।
फागुन ८ बाट इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू एक महिनासम्म दिनभरि निराहार व्रत बसेर नमाज पढ्ने गर्छन् । मुस्लिमहरू नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ़ने गर्छन्। यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।


















