Prakash Adhikari February 24, 2026
बैतडी, १३ फागुन ः आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ ।
मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म बन्द गरिने भएको हो ।
जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका (बिओपी)मार्फत सुरक्षा निगरानी बढाएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरुबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
गत  चुनावका समयमा ७२ घण्टा सीमानाका बन्द गर्ने गरिन्थ्यो ।  अत्यावश्यक कामका लागि उक्त समयमा नाका खोल्नुपरेमा दुई देशको आपसी समन्वयमा खोल्न सकिने जनाएको छ ।
कञ्चनपुरका सबै सीमा नाका बन्द हुने
कञ्चनपुर, १३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीवार राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने भएका छन् ।
फागुन २० गते राति १२ बजेदेखि एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा तथा नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा मतदान कार्य नसकिएसम्मका लागि रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।
निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन उक्त निर्णय गरिएको उहाँको भनाइ रहेको छ ।
Share Now