ढाका(बंगालादेश), २७ भदौ । साफ सुजुकी कप अन्तरगत आज हुने पहिलो सेमिफाइनल खेलमा नेपाली टोलीले माल्दिभ्सको सामना गर्दैछ । खेल आज दिउसो ३ : ४५ मा ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ ।
समूह चरणतर्फ आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित हुन पुगेको नेपालले त्यसपछिका दुई खेलहरुमा भुटान र आयोजक बंगलादेशलाई हराउँदै समूह बिजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । त्यसक्रममा नेपालले २ गोल खाएको थियो भने ७ गोल फर्काएको थियो ।
समूह चरणमा गरेको उत्कृष्ट प्रदर्शनका कारण पनि नेपाली टोलीको आत्माविश्वास बढेको छ । नेपाली टोलीका सामु माल्दिभ्सको प्रदर्शन अन्य प्रतियोगितामा फितलो देखिएको थियो । त्यसैले आजको खेलमा नेपाल विजयी हुने संभावना बलियो छ ।
माल्दिभ्स यसपटक भाग्यका भरमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी तर्फ आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको ऊ अन्तिम खेलमा भारतसँग पराजित भएको थियो ।
बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणमा एक गोल पनि नगरेको माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको छ।
समूहमा शतप्रतिशत नतिजा निकालेको भारत २ खेलमा ६ अंक बटुल्दै समूह विजेता बनेर सेमिफाइनल पुग्यो।
समूहमा यसअघि भारतले पहिलो खेलमा श्रीलंकालाई समान २-० गोल अन्तरले नै पराजित गरेको थियो।
शुक्रबार श्रीलंका र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि दुबैको सेमिफाइनल प्रवेश सम्भावना बलियो थियो।
आइतबारको नतिजासँगै समूह उपविजेताको टुङ्गो लगाउन प्रतियोगिताको नियमअनुसार गरिएको टसको नतिजा माल्दिभ्सको पक्षमा गएको थियो ।
अर्को सेमिफाइनलमा भारत र पाकिस्तानबीच हुनेछ।