कोलम्बो(श्रीलंका), १६ फागुन (एजेन्सी) । साहिबजादा फरहानले उत्कृष्ट शतक प्रहार गरे पनि पाकिस्तान टी २० विश्वकपको सुपर एट चरणबाट बाहिरिएको छ।
पाकिस्तानले श्रीलंकालाई आज ५ रनले हराए पनि नेट रन–रेटका आधारमा सेमिफाइनलमा स्थान बनाउन सकेन।
फरहानले ६० बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय रन बनाए। उनको इनिङ्सको मद्दतले पाकिस्तानले ८ विकेटको क्षतिमा २ सय १२ रन बनायो । जुन टि ट्वान्टी विश्वकपमा पाकिस्तानको अहिलेसम्मकै उच्च योगफल हो।
सेमिफाइनल पुग्न पाकिस्तानले श्रीलंकालाई १ सय ४७ रनभन्दा कममा रोक्नुपर्ने अवस्था थियो । त्यो अवस्थामा समूह–२ मा न्युजिल्याण्डको भन्दा पाकिस्तानको राम्रो नेट रन रेट हुने थियो । तर श्रीलंकाले १५।५ ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन पार गरेपछि न्युजिल्याण्ड नकआउट चरणमा पुग्यो।
योसँगै न्यूजिल्याण्डको नेट रन रेट १.३९० रह्यो र टोलीले इङ्ल्यान्ड भन्दापछि दोस्रो स्थान सुरक्षित गर्यो। पाकिस्तानको नेट रन रेट भने –०.१२३ रह्यो।
श्रीलंकाले विश्वकप इतिहासकै दोस्रो ठूलो लक्ष्य पछ्याउने प्रयास गरे पनि अन्ततः लक्ष्यभन्दा पछाडि रह्यो। कप्तान दासुन शनाकाले ३१ बलमा अविजित ७६ रन बनाउँदै अन्तिम ओभरमा १ चौका र ३ छक्का प्रहार गरे। अन्तिम ओभरमा २८ रन आवश्यक हुँदा उनले आक्रामक ब्याटिङ गरे।
तर जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिँदा शाहिन अफ्रिदीले उत्कृष्ट यर्कर बलिङ गर्दै अन्तिम २ बल डट फ्याँकेपछि श्रीलंकाको सम्भावना समाप्त भयो। श्रीलंकाले ६ विकेट गुमाउँदै २ सय ७ रन मात्र बनाउन सक्यो।
त्यसअघि फरहान र फखर जमानबीच पहिलो विकेटका लागि १ सय ७६ रनको साझेदारी हुँदा पाकिस्तानले ठूलो स्कोर बनाउने आशा देखाएको थियो।
इंग्ल्याण्डविरुद्ध मध्यक्रममा खेलेपछि पुनः ओपनरको रूपमा फर्किएका फखरले ४२ बलमा ८४ रन बनाए। उनले ९ चौका र ४ छक्का प्रहार गर्दै श्रीलंकाका बलरहरूलाई दबाबमा राखे।
तर फखर आउट भएपछि पाकिस्तानले लय कायम राख्न सकेन। दिलशान मदुशंकाले ३ विकेट लिएर रनको गति रोके। अन्तिम दुई ओभरमा थपिएको १४ रन पर्याप्त हुन सकेन।
फरहानको कीर्तिमानी प्रदर्शन
यो विश्वकप पाकिस्तानका लागि कठिन रहँदा फरहान भने चम्किए। २९ वर्षीय फरहानले पल्लेकेले क्रिकेट रंगशालामा उत्कृष्ट इनिङ्स खेल्दै विश्व कपमा आफ्नो कुल रन संख्या ६ इनिङ्समा ३ सय ८३ रन पुर्याए। उनको औसत ७६।६० रहेको छ।
टि ट्वान्टी विश्वकपको एउटै संस्करणमा एकै खेलाडीले बनाएको यो सर्वाधिक रन हो। उनले सन् २०१४ मा विराट कोहलीले बनाएको ३ सय १९ रनको कीर्तिमान तोडे।
फरहानले यो विश्वकपमा १८ छक्का प्रहार गर्दै सबैभन्दा बढी छक्का हान्ने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा रहे। वेस्ट इन्डिजका सिम्रोन हेटमायरले १७ छक्का प्रहार गरेका छन्।
नामिबियाविरुद्ध ५८ बलमा नटआउट १ सय रन बनाएका फरहान विश्वकपमा २ शतक बनाउने पहिलो ब्याटर बने।
यद्यपि, उनले शतक पूरा गर्ने क्रममा ५९ बलमा १ सय रन पुर्याएपनि त्यसपछि पाकिस्तानको रनको गति रोकियो । १९औं ओभरको पहिलो बलमा उनले सिंगल लिएर शतक पूरा गरे, तर त्यसपछि अर्को छेउबाट २ विकेट गयो र उनी स्ट्राइकमा फर्कन सकेनन्। अन्ततः अन्तिम ओभरमा मदुशंकाको बल कभरतर्फ प्रहार गर्दा क्याच आउट भए।
इङ्ल्यान्डसँग पराजित न्युजिल्यान्ड पनि सेमिफाइनलमा
शनिवार सम्पन्न श्रीलंकासंगको खेलमा पाकिस्तान मात्र ५ रनले विजयी बनेकोले इंग्ल्याण्डसंगको पराजयका बाबजूद न्युजिल्याण्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
इङ्ल्यान्डले कोलम्बोमा न्युजिल्यान्डमाथि रोमाञ्चक ४ विकेटको जित निकाल्दै टि ट्वान्टी विश्वकप सेमिफाइनलअघि उत्कृष्ट लय बनाएको छ।
पहिल्यै सेमिफाइनलमा स्थान पक्का गरिसकेको इङ्ल्यान्डलाई जितेका लागि अन्तिम १७ बलमा ४२ रन चाहिएको थियो। पिच स्पिनरका लागि अनुकूल थियो र रन बनाउन सहज थिएन।
तर रेहान अहमदले लामो सिधा छक्का प्रहार गरे। त्यसपछि विल ज्याक्सले पनि छक्का हाने र थप २ चौका प्रहार गर्दै अफ–स्पिनर ग्लेन फिलिप्सको एक ओभरमा २१ रन जोडे।
१९औं ओभरको अन्तिम बलमा अहमदले मिचेल सान्टनरलाई अर्को छक्का प्रहार गरेपछि अन्तिम ओभरमा ५ रन मात्र आवश्यक रह्यो।
इङ्ल्यान्डले ३ बल बाँकी हुँदै लगातार पाँचौं जित निकाल्यो। १ सय ६० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९।३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
ज्याक्स ३२ र अहमद ७ बलमा १९ रन बनाएर नटआउट रहे। दुवैले मिलेर सातौं विकेटका लागि १६ बलमा ४४ रनको साझेदारी गरे।
बलिङतर्फ पनि दुवैले समान २ विकेट लिए। इङ्ल्यान्डले १६ ओभर स्पिन बलिङ गर्दै न्युजिल्यान्डलाई ७ विकेटमा १ सय ५९ रनमा रोकेको थियो। न्युजिल्यान्डका सबै ७ विकेट स्पिनरले लिएका थिए।


















