Prakash Adhikari March 3, 2026

काठमाडौं, २० फागुन । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता मधेस प्रदेशका दुई उम्मेद्वार पक्राउ पर्नुभएको छ । पक्राउ पर्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव र नेकपाका पर्सा २ का उम्मेदवार मनोज चौधरी हुनुुहुन्छ । दुवै जना मौनअवधिका बेला निषेधित कार्यमा संलग्न भेटिएकोले पक्राउ पर्नुभएको हो ।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो । जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि जसपा नेपालका उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

पर्सा २ का उम्मेद्वार मनोज चौधरी पनि पक्राउ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरी पनि पक्राउ पर्नुभएको छ ।

नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

 

गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको डिएसपी बस्नेतले जानकारी दिनुभयो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ ।

Share Now