काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाको फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दिशामा अग्रसर छ । उसले दुईतिहाई नै सीट जित्छ कि भन्ने अवस्था छ ।
मत गणनाको हालसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको खातामा अरु सिटहरु थपिएका छन् । यी हुन् थपिएका सिटहरुः
काठमाडौं ९ मा रास्वपाका डिपी अर्याल विजयी
काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल विजयी हुनुभएको छ।
अर्याल २९ हजार ६ सय ३३ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिनुभयो।
उहाँले ३५ हजार ९३ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४ सय ६० मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेका उम्मेदवार अजय क्रान्ति शाक्यले ४ हजार ५ सय ८० मत प्राप्त गर्नुभएको छ ।
धनुषा ३ बाट मनिष झा विजयी
प्रतिनिधि सभा निर्वाचन २०८२ मा मधेश प्रदेशको धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा विजयी हुनुभएको छ ।
उहाँले ४३ हजार ९ सय ८८ मत ल्याएर विजयी हुुनुभएको हो। उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई २७ हजार ६ सय ५२ मतले उछिन्नुभएको छ।
निधिले १६ हजार ३ सय ३६ मत पाउनुभएको छ। यसअघि निधि र झा दुवै समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो।
निधिले जित्दै आएको यो क्षेत्रमा यसअघि एमालेकी जुली महतोले जित्नुभएको थियो। यसपालि पनि महतो यो क्षेत्रमा प्रतिस्पर्धामा हुनुहुन्थ्यो।
काठमाडौं ४ मा पुकार बम विजयी
काठमाडौं क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बम विजयी हुनुभएको छ।
उहाँ २० हजार ३१८ मतान्तरले विजयी हुनुभएको हो।
उहाँले २९ हजार १ सय ४२ मत ल्याउनुभएको छ भने उहाँका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८ सय २४ मत प्राप्त गर्नुभएको छ।
मोरड. ४ बाट सन्तोष राजवंशी निर्वाचित
प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी हुनुभएको छ ।
उहाँ २८,०१५ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो।
अधिकारीका अनुसार सन्तोषले ४० हजार ८ सय ३३ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे १२ हजार ८ सय १८ मत प्राप्त गर्नुभयो। घिमिरे कांग्रेसका महामन्त्री हुनुहुन्छ ।


















