Prakash Adhikari March 6, 2026
काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याउनुभएको छ । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित हुनुभएको थियो ।
स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी
 स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी हुनुभएको छ ।
शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले राससलाई जानकारी दिनुभयोे ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित हुनुभयो । उहाँले १८ हजार ८५७ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो हुनुभएको छ । उहाँले १६ हजार ८०४ मत प्राप्त गर्नुभएको हो ।
स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।
महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी
 महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले आज बिहान जारी गरेको अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिनुभयो ।
त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले छ हजार ५९१ र नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले छ हजार २१३ मत ल्याएको जनाइएको छ ।
Share Now