Prakash Adhikari March 10, 2026

-गनी अन्सारी

बीबीसी न्यूज नेपाली

 

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका एक महामन्त्रीले पार्टी सभापति गगन थापाको राजीनामा सन्दर्भमा केन्द्रीय समितिले निर्णय गर्नुपर्ने बताउनुभएको छ ।

गत साता भएको निर्वाचनमा कांग्रेसले बेहोरेको नराम्रो हारको सभापतिले जिम्मेवारी लिनुपर्ने कतिपयको धारणाबीच थापाले राजीनामा दिन चाहेका विवरण सार्वजनिक भएका छन्।

तर कांग्रेसका प्रवक्ताले पनि त्यो पार्टी सभापतिको व्यक्तिगत सोच भएको र त्यसबारे केन्द्रीय समितिको निर्णय आवश्यक हुने बीबीसीलाई बताउनुभयो ।

अघिल्लो चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेस यसपालि दोस्रो स्थानमा खुम्चिएको छ। कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ केवल १८ सीट ल्याएको छ भने समानुपातिकतर्फ १६ प्रतिशत मत पाएको छ।

समानुपातिक प्रणालीको सीट सङ्ख्या निर्धारण भएपछि पनि कांग्रेसले कुल ४० सीट नपुर्‍याउने देखिन्छ। नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापति पदमा निर्वाचित गरेको दुई महिना पनि भएको छैन।

काठमाडौंबाट जित्दै आएको आफ्नो क्षेत्र छोडेर सर्लाहीबाट चुनाव लड्नुभएका थापा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग पराजित हुनुभएको हो। सिंह पहिला कांग्रेसमै आबद्ध हुनुहुन्थ्यो।

चुनावमा पाएको नतिजाको नैतिक जिम्मेवारी लिनु र राजीनामा दिनु फरक विषय भएको कांग्रेस महामन्त्री गुरुराज घिमिरेले बताउनुभयो।

“त्यसो भएको हुनाले राजीनामाबारे सभापतिज्यूको भनाइका बारेमा हामी छलफल गर्छौँ। त्यसबारे केन्द्रीय समितिको बैठकले के भन्छ, बैठक भएपछि मात्र टुङ्गो लाग्छ। केन्द्रीय समितिको बैठकले नै निर्णय गर्ने हो”, बीबीसी न्यूज नेपालीसँग उहाँले भन्नुभयो ।

सभापति थापाले राजीनामा दिन चाहेको बताइए पनि केन्द्रीय समितिले उहाँको आवश्यकता महसुस पनि गर्न सक्ने महामन्त्री घिमिरेको तर्क छ।

“उपसभापतिमार्फत् केन्द्रीय समितिमा उहाँले राजीनामा दिने हो। पार्टी सभापतिको प्रस्ताववारे हामी अध्ययन, छलफल गर्छौँ र उपयुक्त निर्णयमा पुग्छौँ”, उहाँले अगाडि थप्नुभयो।

“उहाँ गगन थापो सँग कुरा हुन्छ। कुराकानी भइसकेपछि हामी एउटा निचोडमा पुग्छौँ। समग्रमा केन्द्रीय समितिले नै राजीनामाबारे निष्कर्ष दिन्छ।”

कांग्रेस प्रवक्ता देवराज चालिसे पनि राजीनामा समस्याको समाधान नहुन सक्ने बताउँछन्।

“राजीनामा नै समस्याको समाधान होइन। यो सम्हालिने बेला हो। नेता, कार्यकर्ताका मनोबल गिरिरहेका बेला त्यसलाई उठाउन हामीले भरपर्दो बाटो नदिईकन हामीले यस्तो निर्णय लिनु हुँदैन”, बीबीसी न्यूज नेपालीसँग उहाँले भन्नुभयो।

यद्यपि राजीनामा गर्ने विषय सभापति थापाको भए पनि त्यसमा पार्टीको भूमिका आवश्यक रहने प्रवक्ता चालिसेको तर्क छ।

“दिऊँ भनेर उहाँको मनमा लागेको होला। यो उहाँको व्यक्तिगत कुरा त होला, तर पार्टीको संस्थागत निर्णय त्यो होइन। हामी छलफल गरेर मात्र टुङ्ग्याउँछौँ”, उहाँले अगाडि थप्नुभयो।

वैशाखमा हुने भनिएको नियमित महाधिवेशनको समय घर्किँदै गएका बेला अहिले पार्टी सभापतिको राजीनामाको उपयुक्त समय नभएको चालिसेको तर्क छ।

“एकरदुई महिनाको सङ्क्रमणकालीन समयमा राजीनामाले थप सङ्कट निम्त्याउला कि भन्ने कोणबाट पनि हामीले हेर्न खोजेका छौँ”, उहाँले अगाडि थप्नुभयो।

“नेतृत्व परिवर्तनभन्दा नैतिकताको विषय हो। नियमित अधिवेशन आउनै बाँकी छ त्यसमा जो पनि उठ्न पाउँछन् नै। सबैका लागि ढोका खुलै हुन्छ।”

एक जानको मात्र जिम्मेवारी होइन

नेपाली कांग्रेसले चुनावमा ल्याएको नतिजाको जिम्मेवारी नेतृत्व लिनुपर्ने आवाज पनि सुन्न थालिएको छ। तर प्रवक्ता चालिसे एक जनाले मात्र जिम्मेवारी लिन आवश्यक नहुने बताउँछन्।

“पार्टीले ल्याएको परिणाम सबैले समीक्षा गर्नुपर्ने विषय हो। त्यसमा एउटा व्यक्ति जिम्मेवार हुँदैन। पार्टीको समग्र परिस्थिति, विगतका पृष्ठभूमि र कारण पनि जिम्मेदार हुन्छन्। आत्मसमीक्षा नगरी राजीनामाको विषयमा प्रवेश गर्न उचित हुँदैन”, उहाँले भन्नुभयो।

पार्टी नेतृत्वले अपेक्षाकृत नतिजा दिन नसक्दा र प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा विगतदेखि आफूहरूले प्रश्न उठाउँदै आएको महामन्त्री घिमिरे बताउनुहुन्छ।

“प्रश्न उठाउनुलाई म अनुचित मान्दिनँ। तर प्रश्नको उत्तर राजीनामा हुन सक्छ अथवा अरू तयारीका साथ हामी सशक्त रूपमा अगाडि बढ्नुपर्ने भनी हुन सक्छ”, उहाँले भन्नुभयो।

“यो राजीनामाको विषयमा हामी छलफल गर्छौँ, तर नैतिक धरातल राखेरै हामी त्यसमा उभिन्छौँ।”

देउवासँग निकट नेता के भन्छन्?

भूतपूर्व सभापति शेरबहादुर देउवा कांग्रेसको राजनीतिमा अहिले सक्रिय देखिएका छैनन्। निर्वाचन परिणामलाई लिएर देउवासँग निकटवर्तीले पनि सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन्।

देउवानिकट मानिने नेता महेन्द्र यादवले कांग्रेसलाई एकढिक्का राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“कुनै एउटा सूत्र निकालेर नेपाली कांग्रेसलाई एकढिक्का राख्दै अगाडि बढ्नुपर्छ”, बीबीसी न्यूज नेपालीसँग उहाँले भन्नुभयो ।

नैतिक जिम्मेवारी लिँदै पार्टी सभापति थापाले राजीनामा दिनपर्ने वा नपर्नेबारे उनले स्पष्ट रूपमा केही भनेनन्।

“जे गर्ने हो एकताबद्ध भएर गर्नुपर्छ। के गर्दा राम्रो हुन्छ, सबै जना एक ठाउँमा बसेर सर्वसम्मत निष्कर्ष निकाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

यसअघि सोमवार भूतपूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिम्मेवारीका साथ अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

“अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवारीबोधका हामी सबैले म म भन्दै विगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक(बृहत् एकताका लागि निष्ठ र समर्पण भावका साथ अगाडि बढ्नुपर्ने हामी सबैको नैतिक कर्तव्य र जिम्मेवारी छ”, सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ।

Share Now