Prakash Adhikari March 15, 2026

काठमाडौँ, १ चैत्र । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक तर्फको सूची निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसेको बैठकले यसअघि तोकिए बमोजिमका नामहरू बुझाउने निर्णय गरिएको र सोअनुसार बुझाउने क्रममा रहेको प्रवक्ता एवं केन्द्रीय समिति सदस्य देवराज चालिसेले जानकारी दिनुभयो ।

उहााले बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।

कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । आयोगले दिएको निर्देशनअनुसार नै क्लस्टर छुट्टाएर नाम सिफारिस गरिएको चालिसेले बताउनुभयो । उहाँले कम्तीमा १५ महिला सिफारिस गर्न भने बमोजिम सो अनुसार सिफारिस गरिएको जानकारी दिनुभयो ।

कांग्रेसले २० जना समानुपातिक सांसद}मा खसआर्यबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही, अर्जुननरसिंह केसीलाई चयन गरेको छ ।

आदिवासी जनजातिबाट निर्वाचित हुने ६ जनामा गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बे हुनुहुन्छ ।

मधेशीबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव, दलितबाट निर्वाचित हुने तीनजनामा हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली, थारूबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट शाहजान खातुन चयन हुनुभएको छ।

कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । जसमा एक जनामात्र महिला उम्मेदवार बासना थापा दैलेखबाट विजयी बन्नुभएको छ ।

Share Now