काठमाडौँ, २ चैत : हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ सहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/ चट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बाजुराको उच्च भेगमा वर्षासँगै हिमपात
यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।
वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ । हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदह लगायतका स्थानीय बढी प्रभावित बनेका छन् ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जसीराम सहानीले वर्षासँगै हिमापातले हिउँले बालीलाई राम्रो हुने बताउनुभएको छ ।
यसैबीच , डिभिजन वन कार्यालयले वन्जयजन्तु तथा जङ्गली जनावरको चोरी सिकारी नगर्न आग्रह गरेको छ । जङ्गली जनावरको चोरी सिकारी भएमा वन ऐन अनुसार कानुनी कारबाही गरिने कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले बताउनुभएको छ ।



















