Prakash Adhikari March 16, 2026
  • निरञ्जन राजवंशी
    बीबीसी न्यूज नेपाली

काठमाडौं, २ चैत्र । दीपेन्द्र चौधरी त्यति बेला काठमाडौँ (त्यति बेला क्षेत्र नम्बर ३) को टोलीबाट खेल्थे।

नेपाल क्रिकेट सङ्घ क्यानले पहिलो पटक दुई दिवसीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो।

दुई समूहमा बाँडिएको उक्त प्रतियोगिताको एउटा प्रतियोगिता भैरहवामा र अर्को खेल कलैया र वीरगन्जको मैदानमा भइरहेको थियो।

तर त्यति बेला (विसं २०६३ साल) मधेस आन्दोलन उत्कर्षमा पुग्यो। खेल सञ्चालन हुन सक्ने वातावरण नभएपछि खेल बीचमै रोकिन पुग्यो।

चौधरी सम्झन्छन्, “लामो शैलीको क्रिकेट सुरु भएकोले सबै खेलाडी उत्साहित थिए। काठमाडौँले एक खेल विराटनगर सँग ‘ड्र’ खेलिसकेको थियो। भैरहवा र सुदूरपश्चिमले पनि एक एक खेल खेलिसकेका थिए। तर दोस्रो खेल खेल्नै पाएनौँ।”

मधेस आन्दोलनले बिथोलिएको त्यो प्रतियोगिता सधैँको लागि बन्द हुन पुगेको थियो।

लामो समयपछि क्यानले गत वर्षबाट पूर्वअध्यक्ष जयकुमार नाथ शाहको नामबाट पुनः दुई दिवसीय प्रतियोगिता ब्युँताएको छ।

पछिल्लो समय राष्ट्रिय टोलीको टी २० शैलीको प्रतियोगितामा बढी केन्द्रित भइरहेको बेला प्रतियोगिताको महत्त्व झन् बढेको देखिएको छ।

सुरुआत
नेपालमा क्रिकेट सुरु हुँदा पाँच दिने टेस्ट शैली वा दुई दिवसीय खेल नै हुने गर्थ्यो।

क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे भन्छन्, ” त्यति बेला एक दिने क्रिकेट भन्ने नै कहाँ हुन्थ्यो र। जमाना नै टेस्ट क्रिकेटको थियो। ”

आफ्नो समयको क्रिकेट सम्झिँदै पाण्डे त्यति बेला दुई दिवसीय, तीन दिवसीय क्रिकेटका थुप्रै प्रतियोगिताहरू हुने गरेको सम्झन्छन्, “मदन मेमोरियल ट्रफी, विष्णु ट्रफी, जुगल किशोर ट्रफी सबै दुई दिवसीय प्रतियोगिता थियो। पछि जुगल ट्रफी एक दिवसीयमा पनि भयो।”

अन्तर्राष्ट्रिय प्रतियोगिताको थालनी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले टेस्ट नखेल्ने राष्ट्रका लागि सुरु गरेको इन्टर कन्टिनेन्टल कपले नेपाल जस्तो उदाउँदो मुलुकको छवि बनाइरहेको देशलाई निकै फाइदा पुग्यो।

सन् २००४ र २००५ मा कीर्तिपुर मैदानमा नै इन्टर-कन्टिनेन्टल कपको आयोजना गरिएको थियो। यूएईविरुद्धको खेलमा शरद भेषावकरको ८९ र शक्ति गौचनको ६८ रनको मद्दतले नेपालले १७२ रनले खेल जितेको थियो।

सन् २००६ मा नेपालले नामिवियामा पुगेर इन्टर-कन्टिनेन्टल कपको प्ले अफ खेलेको थियो।

तर बारम्बार प्रतियोगिताहरूको आयोजना परिवर्तन गरिरहेको आइसीसीले उक्त प्रतियोगितालाई निरन्तरता भने दिन सकेन।

नेपालको लामो शैलीको अन्तर्राष्ट्रिय अनुभव पाउने अवसर पनि बन्द भयो।

पूर्व अध्यक्ष पाण्डे एसियाली क्रिकेट परिषद् एसीसीले श्रीलङ्कामा आयोजना गरेको एक महिने लामो भ्रमण निकै फलदायी भएको सम्झन्छन्।

उनले भने, “पारस खड्का, शरद भेषावकर लगायत पाँच खेलाडीले विभिन्न स्थानमा पुगेर प्रशिक्षण लिँदै, प्रतिस्पर्धा गर्दै सिकेको त्यो अनुभव नेपालमा फर्किँदा निकै नै फलदायी बनेको थियो।”

यद्यपि नेपाली खेलाडीहरूले देशमा वा अन्तर्राष्ट्रिय रूपमा लामो शैलीको क्रिकेट खेल्न नपाएको धेरै समय भइसकेको छ।

जय ट्रफीले देखाएको आशा

लामो फर्म्याट भनेको क्रिकेटको आधारभूत आवश्यकतामा मानिन्छ। यसले खेलाडीहरूमा धैर्य बन्ने बानी विकास गराउँछ भनिन्छ। ब्याटरलाई लामो समय सम्म टिक्न र सही बलको छनोट गर्न र बलरहरूलाई परिस्थिति अनुरूपको बलिङ गर्न यसले प्रेरित गर्ने ठानिन्छ। लामो खेलमा मात्र यो सम्भव हुन्छ, किनकि टी २० मा यस्तो मौका सम्भव हुँदैन।

भर्खरै मात्र नेपाली टोली मुम्बईमा टी २० विश्वकप खेलेर फर्केको छ। तर खेलाडीहरूले अब ५० ओभर ढाँचाको आईसीसी विश्वकप लीग २ मा प्रतिस्पर्धा गर्दै छन् ।

मध्यपूर्वको समस्या नभएको भए अहिले कीर्तिपुरमा नेपाल, यूएई र ओमान सम्मिलित लीग २ को खेल प्रतिस्पर्धा भइरहेको हुने थियो।

सकारात्मक कुरा भनेको खेल स्थगित हुँदा खेलाडीहरूले तयारीको मौका पाएका छन्।

क्रिकेट व्यवस्थापक विनोद दास यसै बेला जय ट्रफी दुई दिवसीय खेल भएकोले खेलाडीहरूलाई टी २० शैलीबाट बाहिर आउन मद्दत पुग्ने बताउँछन्।

७० ओभरको इनिङ हुने यो प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा शीर्ष ४ स्थान ओगटेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ र बाग्मती प्रदेशले प्रतिस्पर्धा गरेका थिए।

नेपाल पुलिस र त्रिभुवन आर्मी प्रतियोगिताको फाइनलमा पुगेका छन्। आम निर्वाचनका कारण स्थगित फाइनल आगामी चैत्र ३ गते हुने तय छ। फाइनल खेल भने तीन दिवसीय हुने तालिका छ।

फाइनल अघि थुप्रै खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्।

वाग्मती प्रदेशविरुद्ध ९६ रन बनाएका पुलिसका कुशल भुर्तेल शतक बनाउनबाट चुकेका थिए।

टी–२० टोलीमा नअटाएका तर एक दिवसीयमा राम्रो मानिने भीम सार्कीले अविजित १०५ रन प्रहार गरे। त्रिभुवन आर्मी क्लबका ओपनर तृतराज दासले पनि शतक ठोके।

यस्तै दीपक बोहोरा, ईशान पाण्डे, इमरान शेख, विपिन आचार्य र आशुतोष घिरैयाजस्ता खेलाडीले ब्याटिङमा राम्रो प्रदर्शन गरेका छन्।

जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेकै कारण ईशान पाण्डे राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म पुग्न सकेका थिए। तर फाइनल टोलीमा भने उनी पर्न सकेनन्।

क्यानको वर्तमान कार्यसमितिले जय ट्रफीलाई निरन्तरता दिने बताएको छ। तर त्यसमा ४ टोली मात्र खेल्ने हुँदा कतिपय प्रतिभाशाली खेलाडीहरू भने वञ्चित भएका छन्।

जस्तै दीपेन्द्र सिंह ऐरी, शेर मल्ल, आदिल आलम जस्ता खेलाडी यसपालिको जय ट्रफी खेल्न पाएनन्।

त्यसको विकल्पको रूपमा क्यानले टोलीको सङ्ख्या बढाउनुपर्ने क्रिकेट विश्लेषकहरूले बताएका छन्।

Share Now