Prakash Adhikari March 18, 2026

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सभापतिको पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले बुधबार पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही क्षेत्र नं ४ बाट आफू पनि पराजित हुनुभएको र नेपाली कांग्रेसलाई पनि सम्मानजनक ढंगले विजयी बनाउन नसकेको कारणले उहाँले नैतिक जिम्मेवारी लिंदै पदबाट राजिनामा दिनुभएको हो ।

सभापति थापा सर्लाही क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अमरेशकुमार सिंहसंग भारी मतान्तरले पराजित हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी सिंह पहिले नेपाली कांग्रेसमा हुनुहुन्थ्यो । अघिल्लो आम चुनावमा पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव लडेर नेपाली कांग्रेसलाई पराजित गर्नुभएको थियो ।

हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका १ सय ६५ सीट मध्ये जम्मा १८ सीट मात्र जितेको थियो । जबकी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा १ सय २५ सीट जित्यो । समानुपातिकतर्फ पनि नेपाली कांग्रेसको मत २०७९ को प्रतिनिधि सभाको निर्वाचनको भन्दा ठूलो अन्तरले घट्न गयो । कांग्रेसले जम्मा १७ लाख ७९ हजार १ सय ७२ मत हासिल गरेर २० स्थान सुरक्षित गर्यो । जब कि राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ८३ हजार ४ सय ९३ मत हासिल गरी ५७ सीट सुरक्षित गर्यो ।

कांग्र्रेसले पार्टी सभापति थापालाई भावि प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेको थियो ।

देशमा चुनाव घोषणा भैसकेपछि गत माघ १ गते सम्पन्न कांग्रेसको विवादित विशेष महाधिवेशनबाट उहाँ सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो । यो विशेष महाधिवेशनलाई पार्टीको तात्कालीन संस्थापनले मान्यता दिएको थिएन । महाधिवेशन प्रतिनिधिको प्रमाणीकरण पनि भएको थिएन । निर्वाचनको मुखमा पार्टी विभाजित भएको सन्देश जाने काम नहोस् भन्दै संस्थापन पक्षले विशेष महाधिवेशन रोक्न आग्रह गरेको थियो । तर तात्कालीन महामन्त्री रहनुभएका थापा र अर्का महामन्त्री रहनुभएका विश्वप्रकाश शर्माको जोडबलले सो अधिवेशन भएको थियो ।

पार्टी कार्यालयमा विशेष महाधिवेशनको प्रस्ताव पनि त्यतिबेला दर्ता गरिएको थियो, जतिबेला भाद्र २३ र २४ गते जेन जीको नाममा गरिएको आन्दोलनका क्रममा २४ गते पार्टी सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा. आरजु देउवा राणालाई आन्दोलनकारीले सांघातिक हमला गरेर रक्ताम्मे बनाएका थिए । उहाँको निवासमा आगो लगाएका थिए । निवासमा रहेका गाडीहरुमा आगजनी गरेका थिए । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित जिल्ला र प्रदेशका कार्यालयहरुमा तोडफोड र आगजनी गरिएको थियो । नेपाली कांग्रेसका तात्कालीन उपसभापति, महामन्त्रीहरुसहित थुप्रै नेता कार्यकर्ताको घर तोडफोड र आगजनी गरिएको थियो । पार्टी सभापति देउवा र उहाँकी धर्मपत्नि पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर सिंगापुरमा उपचारमा जानुभएको थियो ।

सभापति थापाले केन्द्रीय समितिको बैठकमा नै प्रधानमन्त्री सुशीला कार्कीसंग हाम्रो लामो भेटघाट र कुराकानी भयो, अब संसद पुनस्थापनाको एजेण्डा छोड्नुपर्छ । पार्टी चुनावमा होमिनु पर्छ भन्नुभएको थियो । उहाँको त्यो कथनलाई कांग्रेसका कार्यकर्ता र शुभचिन्तकहरु अहिले फेरी पुनःस्मरण गरिरहेका छन् । केही दिन पहिले समानुपातिक सांसदहरुको सूची चयन गर्न बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक लगत्तै कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भूसाल सिधै बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसंग ऐतिहासिक फोटो सेसन गरेर फर्किनु भएको थियो ।

चोइटिएको कांग्रेसका सभापति थापाको राजिनामाले पार्टीमा वृहत्तर एकताको मार्ग प्रशस्त भएको छ । अब विवादित विशेष महाधिवेशनबाट निर्वाचित भनिएको कार्यसमितिलाई विघटन गरेर कांग्रेसका सबै पक्षको वृहत्तर बैठक बसी महाधिवेशन आयोजक तदर्थ समिति नबनाएसम्म कांग्रेस उभो लाग्ने देखिन्न । निर्वाचनमा पराजय भोगेर नुर गिरेको अनुहार देखाएर महाधिवेशनको तयारी गर्दा कोही यो पार्टीमा आकर्षित हुने देखिन्न । क्रियाशील सदस्यता नै नयाँ ढंगले वितरण गरेर कांग्रेसलाई पुनर्जीवन दिन आवश्यक छ । त्यसको लागि यो कार्यसमितिको विघटन पहिलो शर्त हो ।

चोइटिएको कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ ।

कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमितिको बैठक चैत्र ६ गते शुक्रबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने जानकारी दिनुभएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूकोे उपस्थितिका लागि अनुरोध गरिएको छ।

 

Share Now